कोलकाता: कोलकाता प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमार्फत एसोसिएशन अफ ओटोल्यारिङ्गोलोजिस्ट्स अफ इण्डिया (एओआई) ले श्रवण समस्या र अपांगताबारे आम जनतालाई सचेत गराउने आह्वान गरेको छ।
सप्टेम्बर २२ देखि २८ सम्म मनाइँदै गरेको अन्तर्राष्ट्रिय बधिर सप्ताह २०२५ को विषयवस्तु “संकेत भाषाको अधिकार बिना मानवअधिकार छैन” रहेको छ।
एओआईका अखिल भारतीय अध्यक्ष तथा ईएनटी सर्जन प्रा. डा. द्वैपायन मुखर्जीले हेडफोनको अत्यधिक प्रयोगले श्रवण शक्ति गुम्ने खतरा हुने बताउनुभयो। उहाँले दुर्गा पूजा, काली पूजा जस्ता पर्वमा आतसबाजीको ठूलो आवाजले पनि श्रवण क्षति पुर्याउने चेतावनी दिनुभयो।
पश्चिम बंगाल च्याप्टर अध्यक्ष डा. उत्पल जनाले कानसम्बन्धी समस्या देखिएमा तुरुन्तै ईएनटी विशेषज्ञसँग परामर्श लिन आग्रह गर्नुभयो।
सचिव डा. अजय खवासका अनुसार नवजात शिशुमा समयमै समस्या पत्ता लागेमा कक्लियर इम्प्लान्ट वा श्रवण यन्त्रको प्रयोग सम्भव हुन्छ।
डा. स्नेहाशीष बर्मनले हेडफोन २ घण्टाभन्दा बढी निरन्तर प्रयोग नगर्न र ५० डेसिबलभन्दा कम ध्वनि स्तर कायम गर्न सुझाव दिनुभयो।
डा. सौमेंद्रनाथ बन्दोपाध्यायले सेप्टेम्बर २८ मा अन्तर्राष्ट्रिय बधिर दिवस को अवसरमा सामान्य जीवनयापनका लागि चस्मा जस्तै श्रवण यन्त्रको महत्वबारे एओआईले विशेष जोड दिने जानकारी दिनुभयो।