कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीयले बुधबार भवानीपुर ७५ पल्लिको दुर्गापूजा पंडालको उद्घाटन गरेकी छन्। यस वर्ष ६१औँ वर्षमा प्रवेश गरेको यस पंडालले १९औँ शताब्दीकी ख्यातनामा नाट्य कलाकार बिनोदिनी दासीलाई केन्द्रमा राखी “बिनोदिनी” भन्ने विषय प्रस्तुत गरेको छ।
थिममार्फत बिनोदिनीको जीवन–कथा, सङ्घर्षदेखि स्टारडम र अन्तिम आध्यात्मिक यात्रासम्मलाई कलात्मक संरचना, नाट्यमञ्चीय प्रस्तुति र प्रकाश–ध्वनि मार्फत जीवित बनाइएको छ।
१८६२ मा जन्मेकी बिनोदिनी दासीले गिरीशचन्द्र घोषको मार्गदर्शनमा ८० भन्दा बढी नाटकमा अभिनय गर्दै बंगाली रंगमञ्चमा महिलाको भूमिकालाई नयाँ परिभाषा दिएकी थिइन्।
समारोहमा विधायक मदन मित्रा, समाजसेवी कार्तिक बनर्जी र पार्षद पापिया सिंह उपस्थित थिए। पंडालको डिजाइन अभिजित नन्दी र परिमल पालले तयार पारेका हुन्।

सचिव सुबीर दासका अनुसार, “यो थिम केवल श्रद्धाञ्जली मात्र होइन, बंगालको सांस्कृतिक परिदृश्यमा महिलाको शक्ति र दृढताको स्मरण पनि हो।”