नयाँ दिल्ली: पूर्व क्रिकेटर दिनेश कार्तिकलाई लोकप्रिय हंगकंग सिक्सेस टुर्नामेण्टको निम्ति भारतीय टीमको कप्तान नियुक्त गरिएको छ। टुर्नामेण्ट ७ देखि ९ नोभेम्बरसम्म खेलिनेछ। पूर्व भारतीय विकेटकीपर-ब्याटर तथा आईपीएलमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) टोलीको मेण्टर कार्तिकले कप्तानको जिम्मेवारी पाएपछि भने, हंगकंग सिक्सेसमा भारतीय टीमको कप्तानी गर्नु मेरो निम्ति गर्वको कुरा हो। हामी नीडर भएर मनोरञ्जक क्रिकेट खेल्नेछौं। हंगकंगमा क्रिकेटको लोकप्रियता लगातार बढ़िररहेको छ। यसरी क्रिकेट हंगकंग चाइनाका अध्यक्ष बुर्जी श्रफले भने, दिनेश कार्तिकलाई हंगकंग सिक्सेस २०२५ को निम्ति टीम इण्डियाको कप्तान बनाएर हामी रोमाञ्चित छौं। उनको कप्तानी र अपार अनुभवले टीमलाई फाइदा पुग्नेछ। यसबाहेक उनको उपस्थिति दर्शकहरूका निम्ति आकर्षणको केन्द्र बन्नेछ। कार्तिकले २००४-मा भारतीय टीमको निम्ति पदार्पण गरेका थिए अनि २०२२-मा अन्तिम अन्तर्राष्ट्रिय म्याच खेलेका थिए। उनले भारतको निम्ति २६ वटा टेस्ट, ९४ वटा वनडे र ६० वटा टी२० अन्तर्राष्ट्रिय म्याच खेले। यसरी आईपीएलमा उनले २५७ वटा म्याच खेलेर ३५७७ रन बनाएका छन्। वर्तमानमा उनले टीभी कमेण्टेटरको रूपमा पनि काम गरिरहेका छन्।