कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लबले फाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा शुक्रवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा जर्जियन एफसी-ले सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम)-विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट कण्टिनेण्टल (२३औं मिनट) र सौरभ तामाङ (६४औं मिनट)-ले गोल गरे। यसरी सिङलिङ स्पोर्टिंग क्लबको तर्फबाट याकुबु (५८औं मिनट) ले गोल गरे। जर्जियन एफसी-का मीडफिल्डर गोञ्जोलाई प्लेयर अव् द म्याच चयन गरियो। अब आइतवार (२१ सेप्टेम्बर) खेलिने दोस्रो फाइनलमा जर्जियन एफसी र युनाइटेड खरसाङ फूटबल क्लब बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्।