बेइजिंग: चीनको हटपट रेस्टुरेन्टमा सुपको भाँडामा दुई किशोरले पिसाब फेरेका छन्। सुप भाँडामा पिसाब फेर्ने दुई किशोरलाई अदालतले ३,००,००० (तीन लाख) डलर (भारतीय साढे दुई करोड रुपैयाँभन्दा बढी) जरिवानाको सजाय सुनाएको छ। यो रकम दुई खानपान कम्पनीहरूलाई दिइनेछ।
यो घटना फेब्रुअरीमा चीनको सबैभन्दा ठुलो हटपट चेन हैडिलाओको सांघाई शाखामा भएको थियो।
दुई १७ वर्षीय केटाहरूले रक्सी सेवन गरेपछि यो कार्य गरेर भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। यसले गर्दा घटनाको व्यापक आलोचना भएको थियो।
ग्राहकहरुले दूषित सुप खाएको कुनै संकेत नभए पनि हैडिलाओले घटनापछिका दिनमा त्यहाँ खाएका हजारौँ ग्राहकलाई क्षतिपूर्ति दिने प्रस्ताव राखेको छ।
अभिभावकले क्षतिपूर्ति तिर्नुपर्ने:
मार्चमा हैडिलाओले भारतीय २ करोड ५० लाख रुपैयाँभन्दा बढीको घाटा दाबी गरेको छ। यसमा ग्राहकहरूलाई तिरेको क्षतिपूर्ति पनि राखिएको छ।
गत शुक्रबार सांघाईको एक अदालतले ती दुई किशोरले अपमानजनक कार्यहरूमार्फत कम्पनीको सम्पत्ति अधिकार र प्रतिष्ठा उल्लङ्घन गरेको फैसला सुनाएको छ।
अदालतले उनको कार्यले भाँडाकुँडा दूषित पारेको र जनतालाई गम्भीर असुविधा निम्त्याएको पनि भनेको छ।
अदालतले किशोरका आमाबाबुले आफ्नो अभिभावकीय कर्तव्य पूरा गर्न असफल भएको पनि उल्लेख गरेको राज्य सञ्चारमाध्यमले जनाएको छ।
क्षतिपूर्ति अभिभावकहरूले मात्र दिने आदेश पनि दिइएको थियो। कुल क्षतिपूर्ति रकममध्ये सञ्चालन र स्थापना क्षतिका लागि भारतीय २.४७ करोड, भाँडाकुँडा र सरसफाइ खर्चका लागि क्याटररहरूलाई करिब भारतीय १६ लाख रुपैयाँ र कानुनी खर्चका लागि करिब भारतीय ८.६५ लाख रुपैयाँ दिइएको छ।