कोलकाता: भारती एयरटेलले सुरु गरेको एण्टी–फ्रड अभियानले उल्लेखनीय सफलता पाएको कम्पनीले दाबी गरेको छ। गृह मन्त्रालय अन्तर्गतको भारतीय साइबर क्राइम कोअर्डिनेशन सेन्टर (आई४सी) का तथ्याङ्कअनुसार एयरटेल नेटवर्कमा वित्तीय क्षतिमा ६८.७ प्रतिशत कमी आएको छ।
आई४सीको विश्लेषणले देखाएको छ कि सेप्टेम्बर २०२४ (जब एयरटेलको फ्रड–स्प्याम डिटेक्शन समाधान लागू भएको थिएन) र जून २०२५ बीच तुलना गर्दा साइबर अपराधका मुद्दामा १४.३ प्रतिशत कमी देखिएको छ।
एयरटेलका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक गोपाल विट्टलले भने, “हाम्रो लक्ष्य हरेक ग्राहकलाई स्प्याम र वित्तीय धोखाधडीबाट सुरक्षित राख्नु हो। पछिल्लो एक वर्षमा मात्र, एआई आधारित नेटवर्क सोलुसनमार्फत ४८.३ अर्ब स्प्याम कल पहिचान भएका छन् भने ३.२ लाख शंकास्पद लिंक ब्लक गरिएका छन्।”
विट्टलले एमएचए–आई४सी र दूरसञ्चार विभागले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै, साइबर अपराध नियन्त्रणका लागि निरन्तर लगानी र नवप्रवर्तन गरिने बताएका छन्।
एयरटेलले सन् २०२४ मा भारतकै पहिलो नेटवर्क–आधारित एआई स्प्याम डिटेक्शन प्रणाली ल्याएको थियो। यसपछि २०२५ मा, विश्वमै पहिलो पटक, नेटवर्कमै खतरनाक लिङ्कलाई रियल–टाइममा ब्लक गर्ने समाधान पनि लागू गरेको हो। यी पहलहरूले ग्राहकलाई थप सुरक्षित नेटवर्क प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्याएको कम्पनीको दाबी छ।