कालेबुङ: युनाइटेड भेटरन्स क्लब, कालेबुङको तत्त्वावधानमा आयोजित शहीद गोल्ड कप फूटबल टुर्नामेण्टमा जर्जियन फूटबल क्लबले सेमिफाइनलमा प्रवेश गऱ्यो। मेला ग्राउण्डमा शनिवार खेलिएको चरम रोमाञ्चक पहिलो क्वार्टर फाइनल म्याचमा जर्जियन एफसी-ले कालेबुङ पुलिसविरुद्ध १-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट एकमात्र गोल पासाङ दोर्जी (सौरभ) तामाङले ३५औं मिनटमा गरे।

टुर्नामेण्टमा जम्मा १६ वटा अग्रणी टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा स्थानीय टीमहरूको साथमा सिक्किम, मणिपुर, भूटान, बोडोल्याण्ड (असम), झारखण्ड, कलकत्ता र नर्थ-ईष्टर्न रेलवे को टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २१ सेप्टेम्बरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ८ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको तर्फबाट फूटबल चीफ कोअर्डिनेटर राजु ग्याबाक ले जानकारी दिएका छन्। आइतवार खेलिने दोस्रो क्वार्टर फाइनल म्याचमा सिङलिङ स्पोर्टिंग क्लब (सिक्किम) र नर्थ ईष्टर्न रेलवेजबीच भिड़न्त हुनेछ।