कोलकाता: पश्चिम बंगालको दक्षिणेश्वर मेट्रो स्टेशनमा शुक्रबार बेलुकी १७ वर्षे विद्यालय छात्रको सहपाठीले चाकू प्रहार गरी हत्या गरेको छ। मृतक बरानगर आलमबजार निवासी मनजीत यादव रहेको प्रहरीले जनाएको छ। उनी बागबाजार हाई स्कूलमा कक्षा ११ मा अध्ययनरत थिए।
प्रत्यक्षदर्शीका अनुसार, विद्यालय सकाएर घर फर्किँदै गरेका मनजीत र उनका साथीबीच विवाद भएको थियो। मेट्रो टिकट काउण्टर नजिकै एक सहपाठीले अचानक उनको छातीमा चाकू प्रहार गरेपछि उनी ढलेका थिए। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरे।
बैरकपुर कमिश्नरेटका डीसी साउथ जोन अनुपम सिंहले दिएको जानकारीअनुसार, सीसीटीभी फुटेजमार्फत अभियुक्तहरूको पहिचान भएको छ। एक जना पक्राउ परेका छन् भने अन्यलाई सोधपुछ भइरहेको छ।
मृतकका पिता सुजीत यादवले भने, “तिनीहरूबीच मित्रता थियो। तर विवाद किन भयो भन्ने थाहा भएन। मलाई छोराकै साथीले फोन गरेर घटनाबारे जानकारी दिएको हो। अब मेरो छोरा कहिल्यै फर्केर आउँदैन।”
स्थानीय वार्डका प्रमुख अञ्जन पालले घटनालाई दुःखद बताउँदै दोषीलाई कडा कारबाही हुने बताएका छन्। यो घटनाले पुरै आलमबाजार क्षेत्रमा शोक र आक्रोश छाएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




