कोलकाता: कोलकाताको ऐतिहासिक अलीपुर चिडियाखानामा दुई दिनको अन्तरालमै दुई बाघिनीको मृत्यु भएको छ। सोमबार १७ वर्षीया सेतो बाघिनी रुपा र मंगलबार १५ वर्षीया धारीदार बाघिनी पायल मरेकी हुन्।
चिडियाखाना प्रशासनका अनुसार साधारणतया बाघ १३–१४ वर्ष मात्र बाँच्छन्। तर यी दुवै बाघिनीले त्यस भन्दा बढी आयु पाएको भन्दै कर्मचारीहरूको निरन्तर हेरचाहलाई कारण बताइएको छ।
मृत्यको कारण पुष्टि गर्न तीन जना चिकित्सकको विशेष टोली बनाइएको छ। पोस्टमार्टम प्रक्रियाको भिडियो खिचेर प्रतिवेदन पेस गरिने जनाइएको छ।
पश्चिम बंगालकी वन राज्यमन्त्री बीरबाहा हांसदाले भनिन्, “प्राप्त प्रतिवेदनअनुसार दुवै बाघिनी वृद्धावस्थाका कारण मरेका हुन्। उनीहरूको हेरचाहमा कुनै कमी भएको छैन। कर्मचारीहरूले पशुपक्षीलाई परिवारकै सदस्यझैँ मानेर माया गर्छन्।”

लगातार दुई बाघिनीको मृत्यु भएपछि चिडियाखानामा स्वाभाविक रूपमा शोक र निराशाको वातावरण छ।