एयर इण्डिया र इन्डिगोले विशेष उडानमार्फत भारतीय यात्रु लैजाने

IMG-20250911-WA0073

काठमाडौँ: नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन्।
नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा भन्दा लामो समय बन्द हुँदा काठमाडौँमा रहेका भारतीयसहित विदेशी यात्रुहरु अलपत्र परेका थिए।
विमानस्थल सञ्चालनमा आएपछि भारतको नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा बिहीबारदेखि अतिरिक्त उडानको व्यवस्था गरेको छ।
भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सामाजिक सञ्जालमार्फत आगामी दिनहरूमा पनि नागरिकहरूको सुरक्षित यात्राका लागि थप उडान तय गरिएको पुष्टि गरेका छन्। उनले सङ्कटको यस घडीमा हवाई भाडालाई उचित सीमामा राख्न पनि एयरलाइन्सहरूलाई निर्देशन दिएका छन्।
यस आन्दोलनका क्रममा नेपालमा अलपत्र परेका यात्रुहरूमध्ये राजस्थानको भरतपुर जिल्लास्थित बयाना निर्वाचन क्षेत्रकी स्वतन्त्र विधायक रितु बन्नावत पनि छन् । ४१ वर्षीया बन्नावत आफ्नो परिवारका सदस्यहरूसहित कैलाश मानसरोवर जाने क्रममा नेपाल-चीन सिमाना नजिकको एक गाउँमा रोकिएकी छिन्।
युवाहरूको अगुवाइमा भएको बृहत् प्रदर्शन हिंसात्मक बन्दा ३० जनाको ज्यान गएपछि काठमाडौँमा जनजीवन बिस्तारै सामान्य बन्दै गएको छ।
केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको आन्दोलन व्यापक आक्रोशमा परिणत हुँदा हिंसात्मक बनेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement