राजगीर (बिहार): भारतले ८ सालको प्रतीक्षापछि एशिया कप हकी टुर्नामेण्टको खिताब जित्यो। आइतवार खेलिएको फाइनल म्याचमा भारतले ५ पल्टको च्याम्पियन दक्षिण कोरियालाई ४-१-ले पराजित गऱ्यो। हरमनप्रीत सिंहको कप्तानीमा रहने टीमले एशिया कपको ट्रफी जित्नको साथै आउँदो साल बेल्जियम र नीदरल्याण्डको संयुक्त आयोजनमा हुने एफआईएच हकी वर्ल्ड कपको निम्ति पनि क्वालीफाई गऱ्यो। भारतको यो टुर्नामेण्टमा चौथो खिताब हो। यसअघि भारत २००३, २००७ र २०१७-मा च्याम्पियन भएको थियो। यसमा भारत २००७ र यसपाली दुईपल्ट दक्षिण कोरियालाई पराजित गरी च्याम्पियन बन्यो। यसबाहेक भारत १९८२, १९८५, १९८९, १९९४ र २०१३-मा उपविजेता रहेको थियो। फाइनलमा भारतको निम्ति दिलप्रीत सिंहले २७औं र ४४औं मिनटमा 2 गोल गरे। यसबाहेक सुखजीत सिंहले पहिलो अनि अमित रोहिदासले ४९औं मिनटमा गोल गरे। दक्षिण कोरियाको निम्ति म्याचको एकमात्र गोल ५०औं मिनटमा डेन सनले गरे। म्याचको चारैवटा क्वार्टरमा भारतले दक्षिण कोरियामाथि दबाउ कायम राख्यो।