यूएस ओपन २०२५ः जोकोविचलाई पराजित गरी सिनरलाई चुनौती दिन फाइनलमा पुगे अल्काराज

IMG-20250906-WA0060

न्यूयोर्क: सर्बियाका दिग्गज नोवाक जोकोविचको रेकर्ड २५औं ग्राण्ड स्ल्याम जित्ने सपना फेरि एकपल्ट साकार हुन सकेन। जोकोविचले सालको अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनमा पुरुष एकलको सेमिफाइनलमा कार्लोस अल्काराजविरुद्ध हारको सामना गर्नु पऱ्यो। स्पेनका अल्काराजले २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन खेलाड़ीलाई २ घण्टा २३ मिनटसम्म चलेको म्याचमा ६-४, ७-६ (४), ६-२-ले पराजित गरी फाइनलमा स्थान बनाए। यसको साथै स्पेनिश स्टार लगातार आठौं एटीपी टूर फाइनलमा पुगे। अब पुरुष एकलको फाइनलमा अल्काराजको भिड़न्त विश्वका नम्बर एक खेलाड़ी यानिक सिनरसँग हुनेछ। सिनरले अन्य एउटा सेमिफाइनलमा कनाडाका फेलिक्स अगुर एलियासिमेलाई ६-१, ३-६, ६-३, ६-४-ले पराजित गरे। अल्काराजले जोकोविचविरुद्ध म्याचमा शुरुवातदेखि नै बढ़त हासिल गरे अनि पहिलो सेट केवल ४८ मिनटमा जिते। जोकोविचले दोस्रो सेटमा पुनरागमन गर्दै ३-०-को बढ़त हासिल गरे तर अल्काराजले पनि चाँड़ै स्कोर ३-३-को बराबरीमा पुऱ्याए। दोस्रो सेट टाईब्रेकरसम्म चल्यो, जसमा स्पेनका खेलाड़ीले जीत हासिल गरे। तेस्रो तथा निर्णायक सेटमा अल्काराजले फेरि सर्बियाई दिग्गजमाथि दबाउ सृष्टि गरे अनि शुरुदेखि नै बढ़त हासिल गरे। त्यसपछि उनले जोकोविचलाई कुनै मौका दिएनन् अनि ६-२-ले तेस्रो सेटसहित म्याच जिते।


यूएस ओपनको सेमिफाइनलमा यात्रा समाप्त भएपछि पनि जोकोविचले सन्न्यासको सम्भावनाहरूलाई खारेज गरे। उनको नजर २०२६-मा हुने ग्राण्ड स्ल्यामहरू खेल्नुमा रहेको जोकोविचले स्पष्ट गरे। उनले भने, हामी हेर्नेछौं। मैले आफ्नो टीमसँग कुराकानी गर्नु पर्नेछ। म आउँदो साल पनि ग्राण्ड स्ल्याम सीजन खेल्न चाहन्छु तर यस्तो हुनेछ या छैन भन्ने पछिबाट पत्तो लाग्नेछ। ग्राण्ड स्ल्याममा खेल्नु सदा खास रहन्छ। यो अन्य कुनै पनि टुर्नामेण्टभन्दा अलग हुन्छ। यसैकारण मलाई आउँदो साल पनि खेल्ने इच्छा छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement