न्यूयोर्क: आठौं वरीयता प्राप्त अमाण्डा एनिसिमोवाले इगा स्वियातेकलाई ६-४, ६-३-ले पराजित गरी यूएस ओपन टेनिस च्याम्पियनशीपमा महिला एकलको सेमिफाइनलमा प्रवेश गरिन्। दुई महिना अघि मात्र ६ पल्टकी ग्राण्ड स्ल्याम विजेता पोल्याण्डकी स्वियातेकले विम्बल्डनको फाइनलमा एनिसिमोवालाई ६-०, ६-०-ले पराजित गरेकी थिइन्। यसपाली यूएस ओपनको क्वार्टर फाइनलमा जीत हासिल गरी अमेरिकी खेलाड़ीले त्यस हारको हिसाब चुक्ता गरिन्। एनिसिमोवाको यो तेस्रो ग्राण्ड स्ल्याम सेमिफाइनल हो तर फ्लशिंग मिडोजमा उनी पहिलोपल्ट यस चरणसम्म पुगेकी छन्। अब उनको सामना ४ पल्टकी ग्राण्ड स्ल्याम विजेता जापानकी नाओमी ओसाकासँग हुनेछ, जसले क्वार्टर फाइनलमा कोको गौफलाई पराजित गरेकी थिइन्। यसरी पुरुष एकलमा गत च्याम्पियन यानिक सिनरले सेमिफाइनलमा स्थान बनाए। इटलीका खेलाड़ीले आफ्नै देशका दशौं ऱ्याङकिंग भएका लोरेञ्जो मुसेट्टीलाई ६-१, ६-४, ६-२-ले पराजित गरे। विश्वका नम्बर एक खेलाड़ी सिनरले अब सेमिफाइनलमा २५औं वरीयता प्राप्त फेलिक्स आगर एलियासिमेको चुनौती स्वीकार्नेछन्। कनाडाका खेलाड़ी एलियासिमेले आठौं ऱ्याङकिंग भएका अष्ट्रेलियाई खेलाड़ी एलेक्स डी मिनौरलाई ४-६, ७-५, ७-५, ७-६-ले पराजित गरे। सिनरको यो लगातार पाँचौं ग्राण्ड स्ल्याम सेमिफाइनल हो। अब शुक्रबार खेलिने म्याचमा जीत हासिल गर्न सके उनी यस साल चारैवटा ग्राण्ड स्ल्याम फाइनलमा पुग्ने खेलाड़ी बन्नेछन्।
यसबीच भारतका युकी भाम्बरी न्यूजील्याण्डका माइकल भीनससँग जोड़ी बनाएर खेल्दै आफ्नो करियरमा पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको पुरुष युगल सेमिफाइनलमा पुगे। भाम्बरी र भीनसको ११औं वरीयता प्राप्त जोड़ीले निकोला मेटिच र राजीव रामको जोड़ीलाई ६-३, ६-७, ६-३-ले पराजित गऱ्यो। यसअघि उनीहरूले चौथो वरीयता प्राप्त जर्मनीका केविच क्रावीत्ज र टिम पुएत्जको जोड़ीलाई पराजित गरेका थिए। ३३ वर्षीय भाम्बरी चोट आघातले बारम्बार सताएपछि अहिले एकल छोड़ेर युगलमा ध्यान केन्द्रित गरिरहेका छन्। 

विश्वका पूर्व जूनियर नम्बर एक खेलाड़ी भाम्बरीको यो सीनियर ग्राण्ड स्ल्याममा अहिलेसम्मको सर्वश्रेष्ठ प्रदर्शन हो। म्याच जितेपछि भाम्बरीले भने, यो निक्कै रोमाञ्चक अनुभव रह्यो। म धेरै भावुक भइरहेको छु। यति कठिन म्याच जित्न सकेर म खुशी छु। हाम्रो प्रतिद्वन्द्वी जोड़ी अनुभवी थियो। यसैकारण म्याच जित्ने अनुभव खास रह्यो। सेमिफाइनलमा भाम्बरी र भीनसको जोड़ीको सामना छैटौं वरीयता प्राप्त ब्रिटेनका जो सालिस्बरी र नील स्कूपस्कीको जोड़ीसँग हुनेछ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								





