नेपालमै पहिलोपटक एयर एम्बुलेन्स विमान शनिबार आई पुग्यो

IMG-20250830-WA0107

काठमाडौँ: नेपाली सेनाले सञ्चालन गर्न लागेको पहिलो अत्याधुनिक एयर एम्बुलेन्स विमान शनिबार काठमाडौंमा अवतरण भयो। जंगी अड्डा स्रोतका अनुसार, अमेरिकी सहयोगअन्तर्गत सेनालाई उपलब्ध हुन लागेका एउटा एयर एम्बुलेन्सहित दुईवटा विमान भोलि भारतको जयपुर हुँदै काठमाडौंमा अवतरण हुँदैछन्। यी विमानलाई आउँदो साता अमेरिकी दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सेनाको मिड एयर बेसमा हस्तान्तरण गर्ने भनिएको छ।
गएको सोमबार पोल्यान्डबाट नेपालका लागि यी विमान पोल्यान्डका पाइलटहरूले ‘स्पेसल फेरी फ्लाइट’ गरेर उडाएका थिए। यिनलाई त्यहाँबाट ग्रिस, इजिप्ट, साउदी अरब, बहराइन, मस्कट हुँदै पाँचौँ दिन शुक्रबार पाकिस्तानको कराची ल्याइपुर्‍याएको हो।
यीमध्ये एउटा एयर एम्बुलेन्स र अर्को बहुउपयोगी युटिलिटी एयरक्राफ्ट स्काई ट्रक रहेको छ। अमेरिकी सहयोग अन्तर्गत ‘ल्यान्ड फोर्सेस टक (एलएएफटी) कार्यक्रममार्फत प्राप्त हुन लागेका यी विमान शनिबार काठमाडौंमा अवतरण भएको सैनिक प्रवक्ता सहायक रथि राजाराम बस्नेतले पुष्टि गरे। ‘विभिन्न विपद्, सुत्केरीलगायत घाइते बिरामी उद्धारका लागि एउटा एयर एम्बुलेन्स आइपुग्दै छ’, सैनिक प्रवक्ता बस्नेतले भने, ‘अर्को स्काई ट्रक हो। यी दुवै विमानले सैनिक उडानको क्षमता अभिवृद्धि गर्ने छ।’
रक्षा मन्त्रालय स्रोतका अनुसार, यी विमान करिब झन्डै ३ अर्ब रुपैयाँ बराबरको सहयोगमा उपलब्ध हुँदैछन्।
अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय स्रोतका अनुसार एयर एम्बुलेन्सको लागत १ अर्ब ५७ करोड हाराहारी रहेको छ। त्यस्तै, बहुउपयोगी कामका लागि प्रयोग हुने स्काई ट्रककोलागत १ अर्ब ३८ करोड रुपैयाँ हाराहारी रहेको छ। एयर एम्बुलेन्समा ४ करोड ६६ लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरु रहेका छन्।
सैनिक स्रोतका अनुसार, नयाँ एयर एम्बुलेन्स अत्याधुनिक उपकरणसहित रहेको छ। यसमा अनबोर्ड मेडिकल इक्युपमेन्ट जडान गरिएका छन्। जसमा स्ट्रेचर, भेन्टिलेटर, अक्सिजन सपोर्ट प्रणाली, डिफिब्रिलेटर र आधारभूत शल्यक्रिया सामग्रीसमेत रहने छन्। यसले आकस्मिक अवस्थामा बिरामीलाई अस्पतालसम्म पुर्‍याउने क्रममा हवाईमै उपचार गर्न सकिने सुविधा उपलब्ध गराउनेछ।
नेपालमा यस किसिमको सुविधा पहिलोपटक उपलब्ध हुन लागेको हो। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, नेपालमा अहिलेसम्म ‘डेडिकेटेड’ एयर एम्बुलसेन्स थिएन। ‘कोभिडको समयमा बुद्ध एयरको बिचक्राफ्ट विमानलाई एयर एम्बुलेन्स बनाउन छलफल भएको थियो’, प्रवक्ता भुलले भने, ‘हरेक महिना नेपालमा एउटा–दुईवटा विदेशी चार्टर एयर एम्बुलेन्स आउँछन्। तीनले कम्तीमा २० लाख रुपैयाँ नेपाली पैसा लैजान्थे। अब नेपालकै दर्ता नम्बर भएको सैनिक एयर एम्बुलेन्स हुने भयो। सैनिक उडान परिचालनमा यो ‘गेम चेन्जर’ का रूपमा आएको छ। सेनाको उड्डयन क्षमतामा पनि यो नयाँ अध्याय हुने छ।’
नेपालले सिभिल एयर एम्बुलेन्सको धेरै पहिलेदेखि आवश्यकता महसुस गर्दै आइरहेको थियो। नेपालमा रजिर्ष्टड भएको जहाजबाट स्वदेश र विदेशमा बिरामी ल्याउन/लैजान अब सहज हुनेछ। सैनिक एयर एम्बुलेन्स सेवा नेपाली नागरिकले प्राप्त गर्दा सस्तो पनि पर्नेछ। नेपाली अर्थतन्त्रमा पनि योगदान हुने छ। ‘अब पैसा बाहिर पनि जाँदैन। विदेशीले लैजाने रकम नेपालमै रोकिने छ। सेनाले ल्याउने दुवै विमान उद्धार र दुर्गम यातायातका लागि ज्यादै उपयोगी हुने छन्,’ भुलले भने।
चार वर्षअघि अमेरिकी सहयोगमै सेनाले ३ वटा स्काई ट्रक ल्याइसकेको छ। अमेरिकी सहयोगमार्फत थप दुइटा आएसँगै यो संख्या ५ पुग्नेछ। नयाँ एयर एम्बुलेन्स विमानलाई सेनाले विपद् उद्धार, स्वास्थ्य आपत्कालीन अवस्था, दुर्गम क्षेत्रका बिरामी उद्धार उपचार र सैनिक परिचालनमा प्रयोग गर्ने छ। स्काई ट्रक छोटा धावनमार्गमा अवतरण गर्न सक्ने क्षमताका कारण हिमालपारिका दुर्गम विमानस्थल र असजिलो भूबनोटका लागि उपयुक्त मानिन्छन्।
गौचरस्थित मिड एयरबेसमा कार्यरत एक सैनिक पाइलटका अनुसार, हाल सेनासँग १९ वटा वायुयान छन्। जस्मा रसियन एमआई हेलिकोप्टर ४, टर्बोप्रप स्काई ट्रक ३, अमेरिकन पाइपर २, इटालियन अगसता हेलिकोप्टर २, भारतीय धुव्र हेलिकोप्टर २, बेल हेलिकोप्टर ३, युरोकोप्टर २ र स्पेनिस ट्रान्सपोर्ट कासा विमान १ गरी १९ वटा जहाज तथा हेलिकोप्टर उडानमा छन्। यी विमानका लागि सेनासँग ४० हाराहारी पाइलट छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement