काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा जाँदै छन्। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्।
चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसनको) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन्।
भ्रमण दलमा प्रधानमन्त्री ओलीको श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री सांसद पूर्णबहादुर खड्का, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् सांसद छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन्।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको छ। मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा उठाउने एजेन्डाका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए। सांघाई सहयोग संगठन, सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक हो। चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन्।
नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्। नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ।
के छ कार्यतालिका ?
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेट हुने संसदलाई जानकारी गराएका छन्। यसैगरी बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग पनि भेट हुनेछ। ‘चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले दिनुहुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं,’ ओलीले भने।
प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा पनि सहभागिता हुने र आपूmले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रस्ट्याए। उनले एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि जानकारी दिए। प्रधानमन्त्री ओलीको सोही दिन बेइजिङ जाने कार्यक्रम भएको पनि संसद्मा जानकारी दिए।
प्रधानमन्त्री ओलीले हालसम्म तय भएका साइडलाइन बैठकका विषयमा जानकारी गराउँदै भने, ‘अरू देशका साथीहरूसँग पनि भेट्ने विषयमा कुराकानी भइरहेको छ। अहिलेसम्म रुसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग भेट्ने कुरा टुंगो लागेको छ।’
अन्तिम दिनको कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै भदौ ३ सितम्बर चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फाँसीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको ओलीले जानकारी दिए। उक्त कार्यक्रममा ५० भन्दा बढी देशले सहभागिता जनाउने तय भएको ओलीले बताए।
प्रधानमन्त्री ओलीले यसपालीको चीन भ्रमणबाट नेपाल र चीनबीचको मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने बताए। प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा नेपालको भूमिमा भारत–चीनले व्यापार मार्ग खोल्न गरेको सहमतिबारे कुरा राख्ने बताएका छन्।