झापा: सुनसरीमा पर्ने नेपाल-भारत सीमा क्षेत्रका नाका प्रवेशमा कडाइ गरिएको छ। भारतीय सुरक्षा फौज एसएसबीले विहार राज्यको सबै नाकाको सुरक्षामा कडाइ गरेको हो।
वीगञ्ज-रक्सौल नाकाबाट आतंकवादीको ओहोर दोहोर हुनसक्ने सूचना आएपछि विहार राज्यका सबै नाकाको सुरक्षामा कडाइ गरिएको सुपौल जिल्लाका डीएम श्रवण कुमारले जानकारी दिए। नेपालको भूमि हुँदै भारतीय भूमिमा जैश-ए-मोहम्द आतंकवादी संगठनको गतिविधि हुनसक्ने सूचना पाएपछि विहारमा उच्च सतर्कता जारी गरिएको डीएम श्रवण कुमारले बताए। यसै क्रममा सुपौल जिल्लाको भारत-नेपाल सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ।
सुपौल जिल्लाबाट नेपाल जाने एकमात्र वैध मार्ग भीमनगर एसएसबी चेकपोष्टमा शनिबारदेखि नै आवतजावत गर्ने हरेक यात्रुको कडाइका साथ चेकजाँच भइरहेको छ। नेपाल जाने तथा नेपालबाट भारत फर्किने यात्रुहरूलाई एसएसबीका जवानहरूले सुक्ष्मरूपमा चेकजाँच गरिरहेका छन्।
सुपौल जिल्लासँग जोडिएका १८ वटा सीमा चौकी (बीओपी)को जिम्मेवारी लिइरहेको एसएसबीको ४५औं बटालियनले सीमा क्षेत्रको सुरक्षामा थप कडाइ र निगरानी बढाएको जनाएको छ। बीओपी क्षेत्रमा विशेष गस्ती, निगरानी र चेकपोष्टहरूको सक्रियता बढाइएको डीएम कुमारले बताए।