ज्यूरिखमा नीरज चोपड़ा समक्ष कठिन चुनौती

IMG-20250826-WA0064

नयाँ दिल्ली: दुईपल्टका ओलम्पिक पदक विजेता भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले डायमण्ड लीग फाइनलमा खिताबको निम्ति चुनौती पेश गर्नेछन्। डायमण्ड लीग फाइनल स्विट्जरल्याण्डको ज्यूरिखमा २७ र २८ अगस्तमा हुनेछ, जहाँ चोपड़ा अघि जूलियन वेबर जस्ता दिग्गज खेलाड़ीको चुनौती रहनेछ। नीरजले २०२२ डायमण्ड लीग फाइनलको खिताब जितेका थिए तर २०२३ र २०२४ सीजनमा उनी उपविजेता रहेका थिए। यसैकारण ज्यूरिखमा उनको नजर खिताब जित्नुमा रहनेछ। नीरज चोपड़ाको निम्ति यो सीजन असल रहेको छ। उनले चारमा दुईवटा क्वालीफाईंग चरण (दोहा र पेरिस)-मा मात्र हिस्सा लिएको भए पनि चौथो स्थानमा रहेर फाइनलको निम्ति क्वालीफाई गरेका छन्। चोपड़ाले यस अवधि ९० मीटरको चमत्कारी आँकड़ालाई पनि पार गरेका छन्, जुन गत केही सालदेखि उनको निम्ति ठूलो चुनौती बनेको थियो। उनले दोहा चरणमा ९०.२३ मीटरको थ्रो गरी यस उपलब्धिलाई हासिल गरेका थिए। दोहामा ९० मीटरको दूरी पार गरे पनि उनी वेबरपछि दोस्रो स्थानमा रहेका थिए। त्यसपछि उनले जूनमा ८८.१६ मीटरको थ्रो गरी पेरिस चरण जितेका थिए।
नीरज चोपड़ा र वेबरको साथमा एण्ड्रियन मार्डारे, गत च्याम्पियन एण्डरसन पीटर्स, केशोर्न वालकट र जूलियस येगोले पनि फाइनलको निम्ति क्वालीफाई गरेका छन्। स्विट्जरल्याण्डका साइमन वीलेण्डलाई आयोजक देशको प्रविष्टिको रूपमा स्पर्धामा सामेल गरिएको छ। नीरज चोपड़ाको अन्तिम प्रतिस्पर्धी टुर्नामेण्ट ५ जुलाईमा बेंगलुरुमा भएको नीरज चोपड़ा क्लासिक थियो, जहाँ उनले ८६.१८ मीटरको थ्रो गरी खिताब जितेका थिए। समग्रमा उनले जारी सीजनमा ६ वटा प्रतियोगितामा हिस्सा लिएका छन्। यसमा उनले चारवटामा खिताब जितेका छन् भने दुईवटा प्रतियोगितामा उपविजेता रहेका छन्। डायमण्ड लीग फाइनलको साथमा नीरजको लक्ष्य १३-देखि २१ सेप्टेम्बरसम्म टोक्योमा हुने वर्ल्ड च्याम्पियनशीपमा आफ्नो खिताब बचाउने पनि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement