नयाँ दिल्ली: भारतीय विदेशमन्त्री डा. एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच सोमबार भएको वार्ताले भारत-चीन सम्बन्धलाई सकारात्मक गतितर्फ अघि बढाउने संकेत देखाएको छ। यस वर्ष भारत-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वार्षिकोत्सव मनाइँदै गर्दा दुवै देशले द्विपक्षीय सम्बन्धको गति कायम राख्ने सहमति जनाएका छन्।
सिन्ह्वाका अनुसार वाङ यी र जयशंकरबीचको वार्तामा परिवर्तनशील विश्व परिस्थिति, स्वतन्त्र व्यापारका चुनौती, प्रमुख शक्तिका रूपमा भारत र चीनको भूमिका, विकासशील मुलुकका लागि उदाहरण कसरी प्रस्तुत गर्ने भन्नेलगायतका विषयहरूमा व्यापक छलफल भएको थियो।
चिनियाँ विदेशमन्त्री यीले वर्तमान विश्व अवस्था तीव्र गतिमा परिवर्तन भइरहेको, धम्कीपूर्ण अभ्यासहरू बढिरहेको र स्वतन्त्र व्यापार तथा अन्तर्राष्ट्रिय व्यवस्थाले गम्भीर चुनौती सामना गरिरहेको बताएका थिए। ‘२.८ अर्बभन्दा बढी जनसंख्या भएका दुई ठूला विकासशील मुलुकको रूपमा भारत र चीनले विश्वव्यापी जिम्मेवारी प्रदर्शन गर्नुपर्छ। प्रमुख शक्तिको रूपमा काम गर्नुपर्छ। विकासशील राष्ट्रहरूका लागि उदाहरण प्रस्तुत गर्नुपर्छ र विश्व ध्रुवीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्धको लोकतान्त्रिकीकरणलाई प्रवर्द्धन गर्न योगदान दिनुपर्छ,’ सिन्ह्वासँग यीले भनेका छन्।










