सिलिगुडी: बंगाल राज्य यातायात कर्मचारी संघको सिलिगुडी शाखाले कर्मचारीहरूको जायज मागलाई लिएर अगस्ट २१ मा आमरण अनशनको आह्वान गरेको छ। पत्रकारहरूसँग कुरा गर्दै उत्तर बंगाल राज्य यातायात कर्मचारी संघका सचिव मिठु भट्टाचार्यले यस अवस्थाको विरोधमा अगस्ट २१ मा आमरण अनशनको आह्वान गरेको बताए।
कर्मचारीहरूले लामो समयदेखि थाँती रहेको तलब नपाएको युनियन सदस्यहरूको आरोप छ। जबकि जागिरको अनिश्चितता र कर्मचारीको संख्या घटाउने जस्ता समस्याहरूको समाधान नभएकोमा युनियन अत्यन्तै आक्रोशित छ।
हाल सेवा केवल ४०० कर्मचारीहरूबाट सञ्चालन भइरहेको छ, जुन पर्याप्त छैन। सरकारको गैरजिम्मेवारीपन र निजीकरणको बाटोमा जाने प्रयासले यातायात कर्मचारीहरूको जीवन र जीविकोपार्जनलाई जोखिममा पारिरहेको छ।
जसका कारण उत्तर बंगालको युवा पुस्ता पनि यातायात क्षेत्रमा रोजगारीको अवसरबाट वञ्चित भइरहेको छ। एकातिर, राज्य सरकारले प्रवासी कामदारहरूलाई ५००० रुपैयाँ दिने कुरा गर्छ भने अर्कोतर्फ, वर्षौंदेखि राज्य सरकारको अधीनमा काम गरिरहेकाहरूलाई तलब दिइरहेको छैन।








