सूर्यकुमारको कप्तानीमा एशिया कपको निम्ति भारतीय टीमको घोषणा

IMG-20250819-WA0108

मुम्बई: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-को सीनियर पुरुष चयन समितिले सोमवार एशिया कप टी२० टुर्नामेण्टको निम्ति भारतीय टीमको घोषणा गऱ्यो। भारत यस प्रतिष्ठित टुर्नामेण्टमा सूर्यकुमार यादवको कप्तानीमा खेल्न ओर्लिनेछ। यसरी टेस्ट कप्तान शुभमन गिल लामो समयपछि भारतीय टी२० टीममा फर्किएका छन्। उनलाई अक्षर पटेलको स्थानमा टीमको उपकप्तान नियुक्त गरिएको छ। भारतले यसअघि ईंग्ल्याण्डविरुद्ध फरवरीमा टी२० सीरीज खेल्दा शुभमन टीमको हिस्सा थिएनन् तर आईपीएल र ईंग्ल्याण्ड यात्रामा असाधारण प्रदर्शनको दममा उनी भारतीय टी२० टीममा स्थान बनाउन सफल भएका छन्। यसरी प्रमुख पेस बलर जसप्रीत बुमराहलाई लिएर पनि सस्पेन्स समाप्त भएको छ। बुमराहलाई एशिया कपमा खेलिरहेको देखिनेछ। यसबीच स्टार ब्याटर श्रेयस अय्यरले चाहिँ यसपाली पनि टीममा स्थान बनाउन सकेनन्। सबैभन्दा धेर चर्चा शुभमन गिलको चयनलाई लिएर रह्यो। उनलाई टीममा सामेल मात्र नगरिएर उपकप्तानको जिम्मेवारी पनि दिइएको छ। टीममा ४ जना विशेषज्ञ ब्याटर र ४ जना अलराउण्डरलाई स्थान दिइएको छ। यसरी विकेटकीपरको रूपमा सञ्जु सेमसनको साथमा जितेश शर्मा रहेका छन्। टोलीमा ३ जना विशेषज्ञ पेस बलर र २ जना विशेषज्ञ स्पिनर रहेका छन्। एशिया कपको आयोजन टी२० प्रारूपमा हुनेछ। यूएई-मा हुने टुर्नामेण्ट ९-देखि २८ सेप्टेम्बरसम्म चल्नेछ। टीमको चयन गर्दा चयनकर्ताहरूले आउँदो वर्ष आईसीसी टी२० वर्ल्ड कपलाई पनि ध्यानमा राखेका छन्। फीनिशरको भूमिकामा ओर्लिएर निरन्तर प्रदर्शन गर्न नसके पनि चयनकर्ताहरूले रिंकू सिंहमाथि फेरि भरोसा देखाएका छन्।
अजीत अगरकरको अगुवाईमा रहने चयन समितिले एशिया कपको निम्ति अभिषेक शर्मा र सेमसनको ओपनिंग जोड़ीमाथि भरोसा देखाएको छ। यसैकारण यशस्वी जयसवाल टीममा स्थान बनाउनदेखि चुके। ओपनर अभिषेक अहिले विश्वका नम्बर एक टी२० ब्याटर हुन्। उनको साथमा टी२० ऱ्याङकिंगमा दोस्रो स्थानमा रहने तिलक वर्मालाई पनि एशिया कपको टीममा स्थान दिइएको छ। शीर्ष क्रममा सञ्जु, अभिषेक, तिलक र गिल रहेका छन् भने मध्यक्रमको जिम्मेवारी कप्तान सूर्यकुमारको साथमा हार्दिक पाण्ड्या र रिंकू सिंहमाथि रहनेछ। बुमराह र अर्शदीप सिंहले भारतीय पेस आक्रमणको अगुवाई गर्नेछन्। यी दुईजनालाई साथ दिन हार्दिक र हर्षित राणा रहनेछन्। अलराउण्डर शिवम दुबेलाई पनि टीममा स्थान प्राप्त भएको छ। एशिया कपको १७औं संस्करणमा भारत खिताब बचाउने लक्ष्य लिएर मैदानमा ओर्लिनेछ। रोहित शर्माको कप्तानीमा भारतले २०२३-को संस्करणमा खिताब जितेको थियो। भारत एशिया कपको सबैभन्दा सफल टीम हो। भारतले यस टुर्नामेण्टमा ८ पल्ट खिताब जितिसकेको छ।
एशिया कपको निम्ति घोषित भारतीय टीम यसप्रकार छः
सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), अभिषेक शर्मा, सञ्जु सेमसन, तिलक वर्मा, शिवम दुबे, हार्दिक पाण्ड्या, जितेश शर्मा, अक्षर पटेल, रिंकू सिंह, कुलदीप यादव, हर्षित राणा, जसप्रीत बुमराह, अर्शदीप सिंह, वरुण चक्रवर्ती।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement