नयाँ दिल्ली: भारतका स्टार ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले डायमण्ड लीग २०२५ फाइनलको निम्ति क्वालीफाई गरेका छन्। डायमण्ड लीग फाइनलको आयोजन स्विट्जरल्याण्डको ज्यूरिखमा २७ र २८ अगस्तमा हुनेछ। गत वर्ल्ड च्याम्पियन नीरजले १६ अगस्तमा पोल्याण्डको सिलेसिया डायमण्ड लीग मीटमा हिस्सा लिएका थिएनन्। यसबाहेक उनले २२ अगस्तमा ब्रसेल्समा हुने अघिल्लो डायमण्ड लीग चरणमा हिस्सा लिने जानकारी पनि रहेको छैन। नीरजले ब्रसेल्स चरणमा हिस्सा नलिए पनि कुनै फरक पर्नेछैन कारण सिलेसिया चरणपछि जारी नवीनतम तालिकाको हिसाबले उनले डायमण्ड लीग फाइनलमा स्थान हासिल गरिसकेका छन्। नीरजले २ वटा डायमण्ड लीग चरणमा हिस्सा लिएका थिए अनि उनी १५ पोइण्ट्सको साथ तेस्रो स्थानमा छन्। नीरज एउटा चरणमा शीर्ष स्थानमा अनि अन्य एउटा चरणमा दोस्रो स्थानमा रहेका थिए। तालिकामा केशोर्न वालकट १७ पोइण्ट्सको साथ पहिलो अनि जूलियन वेबर १५ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेका छन्।
ब्रसेल्स चरणपछि तालिकाको शीर्ष ६-मा रहने एथलीटहरूले ज्यूरिखमा हुने डायमण्ड लीग फाइनलको निम्ति क्वालीफाई गर्नेछन्। नीरजले अन्तिमपल्ट ५ जुलाईमा बेंगलुरुमा भएको नीरज चोपड़ा क्लासिकमा हिस्सा लिएका थिए, जहाँ उनले ८६.१८ मीटरको थ्रो गरी खिताब जितेका थिए। नीरजको निम्ति यो सीजन अहिलेसम्म असाधारण रहेको छ कारण उनले मईमा दोहा डायमण्ड लीगमा बहुप्रतीक्षित ९० मीटरको आँकड़ा पार गरेका थिए। उनले दोहामा ९०.२३ मीटरको आफ्नो करियरको सर्वश्रेष्ठ थ्रो गरेका थिए अनि वेबरपछि दोस्रो स्थानमा रहेका थिए। त्यसपछि उनले पेरिस डायमण्ड लीग चरणमा ८८.१६ मीटरको थ्रो गरी पहिलो स्थान हासिल गरेका थिए। नीरज १३-देखि २१ सेप्टेम्बरसम्म टोक्योमा हुने वर्ल्ड च्याम्पियनशीपमा आफ्नो खिताब बचाउन ओर्लिनेछन्।










