अलास्का: युक्रेन युद्धविरामबारे वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा भेटवार्ता हुँदैछ।
तर, दुवै नेताको भेटअघि रूस र युक्रेनबीच भने आक्रमणहरू जारी छन्। युक्रेनी सेनाका अनुसार रूसमा रातभरि अनेक आक्रमण गरिएका छन्।
टेलिग्राममार्फत जारी विज्ञप्तिमा युक्रेनी सेनाले रूसको सामारा क्षेत्रमा रहेको सिजरान तेल शोधनगृहमा आक्रमण गरेको उल्लेख छ। युक्रेनी सेनाका अनुसार उक्त शोधनगृहले रूसी सेनालाई विभिन्न प्रकारका इन्धन आपूर्ति गर्छ।
यता, युक्रेनी आपतकालीन सेवाका अनुसार रूसले शुक्रबार बिहान उत्तर-पूर्वी सहर सुमीमा आक्रमण गर्दा पेट्रोल पम्पमा आगलागी भएको छ।
यस आक्रमणमा एक व्यक्ति घाइते भएको खबर छ। डोनाल्ड ट्रम्पले हिजो फक्स न्युज रेडियोसँगको अन्तर्वार्तामा भनेका थिए- पुटिनसँगको भेट ‘सफल’ भएमा उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई बोलाएर दोस्रो चरणको बैठकको व्यवस्था गर्नेछन्। युक्रेन र रूसी नियन्त्रण क्षेत्रहरूबारे ट्रम्पले भनेका छन् कि दुवैबीच सीमासम्बन्धी ‘सम्झौता’ हुनु आवश्यक छ।