विराटचोक: विराटनगर-३ स्थित बालगृहमा बुधबार दिउँसो दुई बालबालिका समूहबीच झडप भएको छ। झडप नियन्त्रण गर्ने क्रममा वरिष्ठ प्रहरी हवल्दार हिरनकुमार मण्डल घाइते भएका छन्।
मोरङ प्रहरी प्रमुख एसपी नारायण प्रसाद चिमरियाका अनुसार झडपपछि उनी आफैं घटनास्थल पुगेका थिए। उनले भने, “घटना अहिले नियन्त्रणमा आएको छ। दुई समूहबीच विवाद भएको थियो। सुधारगृहमा बालबालिकालाई सुरक्षित राख्ने काम भइरहेको छ।” ५० जनाको क्षमता भएको सुधारगृहमा हाल २०० भन्दा बढी बालबालिका छन्।
विभिन्न अपराधमा अदालतबाट दोषी ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई पुनर्स्थापनाको लागि यस्ता घरमा राखिएको छ। भीडभाडका कारण व्यवस्थापन चुनौती बढ्दै गएको बताइएको छ।










