लण्डन: युरोपेली शक्ति राष्ट्रहरु बेलायत, फ्रान्स र जर्मनीले इरानविरुद्ध ठुलो कदम चाल्ने तयारी गरिरहेका छन्। तर यसका लागि उनीहरूले इरानलाई समयसीमा पनि दिएका छन्।
यी तीन देशले इरानले अगस्टको अन्त्यसम्ममा आफ्नो आणविक कार्यक्रममा वार्ता पुनः सुरु गरेन भने उसमाथि फेरि प्रतिबन्ध लगाउने संयुक्त राष्ट्र संघलाई बताएका छन्।
बेलायत, फ्रान्स र जर्मनी ई३ भनेर पनि चिनिन्छन्। ई३ले इरानले वार्ता पुनः सुरु नगरेमा स्न्यापब्याक संयन्त्र लागू गर्न तयार रहेको जनाएको छ।
स्न्यापब्याक संयन्त्रसँग इरानले आणविक सम्झौताका सर्त उल्लंघन गरेको विश्वास गरेमा २०१५ भन्दा पहिलेका सबै कडा संयुक्त राष्ट्र संघका प्रतिबन्ध स्वतः पुनः लागू गर्ने प्रावधान छ।
बेलायत, फ्रान्स र जर्मनीले वार्ताको समयसीमा अगस्टको अन्त्यसम्म बढाउने प्रस्ताव गरेको बताएका छन्। यसको इरानले कुनै प्रतिक्रिया दिएको छैन।
गत महिना इरानले थप वार्ताका लागि तयार रहेको बताएको थियो। तर विद्यमान प्रतिबन्ध हटाइयो र नागरिक आणविक कार्यक्रमको अधिकारलाई मान्यता दिइयो भने वार्ता गर्न तयार रहेको इरान जनाएको छ।