चितवन: उन्नत जातका चिनियाँ धानको नेपालमा उत्पादन गराउन परीक्षण सुरु गरिएको छ। रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण सुरु गरिएको हो। नेपालमा व्यावसायिक रूपमा अपनाइएका हाइब्रिडहरू र नेपाली हाइब्रिड प्रजातिहरूको स्क्रिनिङ र तुलना गरिनेछ।
हाइब्रिड धान प्रविधि पार्क बनाएर चिनको छोङ चिङ कृषि प्रतिष्ठानले विकास गरेका ३७ जातका धान परिक्षण गरिनेछ। नेपालका लागि चिनियाँ राजदूत छेन सोङले पार्कमा पुगेर धान रोपेका थिए। सोङले चिनियाँ प्रविधिले नेपालको किसानको सपना पूरा हुने दाबी गरेका छन्। नेपाली किसानलाई सहयोग गर्न चीन सधैं तत्पर रहेको उनले बताए। ‘नेपालको कृषि क्षेत्रमा सहयोग गरेर नेपाली किसानको विकासका लागि उपलब्धि हुनेछ,’ उनले भने, ‘चिनियाँ प्रविधिले नेपालको सपना पूरा गर्नेछ।’
चिनियाँ धान नेपालको हर्दिनाथ–१ सहित नेपाली किसानले मन पराएका अन्य दुई जातका धानको उत्पादन, स्वाद र रोगसँग लड्ने क्षमताको तुलनात्मक अनुसन्धान परीक्षण गरिनेछ। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले थोरै लागतमा धेरै उत्पादन लिन किसानका लागि उपलब्धिमूलक हुने बताइन्। ‘थोरै लागतमा बढी उत्पादन गरेर किसानलाई सहयोग हुने विश्वास छ’, दाहालले भनिन्, ‘परीक्षण सफल भएपछि देशभरका किसानलाई टेवा पुगोस भन्ने उद्देश्य हो।’
नेपालका लागि उपयुक्त हुने बीउ पहिचानका लागि चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण गरिएको हो। नेपालमा व्यावसायिक रूपमा अपनाइएका हाइब्रिडहरू र हाम्रो आफ्नै नेपाली हाइब्रिड, प्रजातिहरूको स्क्रिनिङ र तुलना गरिनेछ। कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्राडा. शारदा थपलियाले पाँच वर्षसम्म परीक्षण गरेर क्षेत्र विस्तार गरेपछि मात्रै कृषकमाझ लगिने बताइन्।
परियोजनाले शैक्षिक अनुसन्धानलाई पनि एकीकृत गर्ने विश्वविद्यालयका उपप्राध्यापक एवं परियोजनाका कार्यक्षेत्र संयोजक राजु खरेलले बताए। दुई वर्षअघि चीन भ्रमणमा रहेका बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धान उत्पादनको परीक्षणका लागि सम्झौता गरेका थिए।
परियोजनाबाट उत्कृष्ट हाइब्रिडहरूले लक्षित प्रजातिहरूका लागि प्रतिहेक्टर कम्तीमा ६ टनले किसानको उत्पादनलाई पार गर्ने अपेक्षा गरिएको छ।