टोकियो: टोकियोको कोराकुएन हलमा भएको छुट्टाछुट्टै बाउटमा मस्तिष्कमा चोट लागेर दुई जापानी बक्सरको मृत्यु भयो। पहिलो घटना अगस्ट २ मा भएको थियो जब २८ वर्षीय शिगेतोशी कोटारी ओरिएन्टल एण्ड प्यासिफिक बक्सिङ फेडरेशन जुनियर लाइटवेट च्याम्पियन यामातो हाता विरुद्ध १२ राउन्डको ड्र पूरा गरेपछि ढले। उनको सबड्युरल हेमेटोमा (मस्तिष्क र खोपडीको बीचमा रगत जम्मा हुने अवस्था) को लागि आपतकालीन शल्यक्रिया गरिएको थियो तर शुक्रबार उनको मृत्यु भयो।
व्यावसायिक बक्सिङको सर्वोच्च निकाय विश्व बक्सिङ संगठन (डब्लु. बि. ओ.) ले सामाजिक सञ्जालमा लेखेको छ, ‘बक्सिङ संसारले जापानी बक्सर शिगेतोशी कोटारीको दुखद मृत्युमा शोक व्यक्त गर्दछ। उनी रिङमा एक योद्धा थिए। उनको परिवार र जापानी बक्सिङ समुदायप्रति हाम्रो समवेदना छ।’ अर्का जापानी बक्सर, २८ वर्षीय हिरोमासा उराकावाको योजी साइतोसँगको नकआउट हारको क्रममा टाउकोमा चोट लागेर मृत्यु भयो।
उनको ज्यान बचाउन क्रेनियोटोमी गरिएको थियो। डब्लु.बि.ओ. ले शनिबार अर्को सामाजिक सञ्जाल पोस्टमा भन्यो, ‘यो हृदयविदारक खबर शिगेतोशी कोटारीको मृत्युको एक दिन पछि आएको हो। उराकावाको सोही प्रतियोगिताको क्रममा लागेको चोटका कारण मृत्यु भयो। हामी यस कठिन समयमा उनको परिवार, साथीभाइ र जापानी बक्सिङ समुदायप्रति गहिरो समवेदना प्रकट गर्दछौं।’