भद्रपुर: झापाको भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ। विशेष सूचनाको आधारमा घोडामारा प्रहरी चौकीको टोली आइतबार दिउँसो १ बजेको समयमा भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्ती बस्ने अन्दाजी ३० वर्षीय सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगर बरामद गर्न पुगेका थिए।
सोही क्रममा कारोबारी श्रेष्ठकी श्रीमती र मामा ससुरा लगायतले धारिलो हतियार (खुकुरी) निकालेर प्रहरीलाई लखेट्दै आक्रमणका प्रयास गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरको सहयोगमा घटनास्थलमा रहेका प्रहरी टोलीले श्रेष्ठसहित उनकी श्रीमती र मामा ससुरालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगेको बताइएको छ। प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर फेला पारेको छ।
घटना विवरण अनुसार घोडामारा प्रहरी चौकीले एकजना ब्राउनसुगर सेवनकर्तालाई पक्राउ गरेको थियो। प्रहरीले सेवनकर्तासँग सोधपुछ गर्दा उनले सन्तोष श्रेष्ठको घरबाट खरिद गरी ल्याएको बयान दिएका थिए। सोही बयानको आधारमा प्रहरी टोली श्रेष्ठको घर पुगेका थिए। घरमा गएर छापा मार्दा घटनास्थलमा धुलो ब्राउन सुगर फेला परेको थियो।
तर, उनीहरूले प्रहरीलाई देख्न साथ प्रमाण नष्ट गर्न ब्राउन सुगर आँगनको भुईँमा फालिदिए। प्रहरीले भुईँबाट टिप्न खोज्दा श्रेष्ठको श्रीमतीले पानी खन्याई ब्राउनसुगर नष्ट गरी घटनास्थलमा रहेका श्रेष्ठलाई त्यहाँबाट भगाउँदै उल्टै प्रहरीमाथि आक्रमण गरेका थिए। प्रहरीले घटनास्थलबाट उनकी श्रीमती र मामा ससुरालाई पक्राउ गरेको थियो भने कारोबारी श्रेष्ठलाई दोभान नाकामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो।
प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले घटनास्थलमा प्रहरीमाथि आक्रमणको प्रयास भएको बताए। ब्राउन सुगरसहित कारोबारी श्रेष्ठ समातिएको र थप अनुसन्धान भइरहेको उनले बताए। प्रहरीले कारोबारी श्रेष्ठको नाम सार्वजनिक गरे पनि श्रीमती र ससुराको नाम भने सार्वजनिक गरेको छैन।
यसअघि पनि वडा प्रहरी कार्यालय भद्रपुरको टोली लागूऔषधको सूचना पाएर कारोबारी श्रेष्ठको घरमा पुगेका थिए। त्यस बेला पनि उनीहरूले प्रहरीमाथि आक्रमणको प्रयास गर्दै ब्राउनसुगर लुकाउन सफल भएका थिए। प्रहरीले कारोबारी श्रेष्ठलाई पक्राउ गरी लगिए पनि ब्राउनसुगर फेला नपर्दा केही दिन हिरासतमा बसी रिहा भएका थिए।











