नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर सञ्जु सेमसन अहिले चर्चामा छन्। उनले आईपीएलमा राजस्थान रोयल्स फ्रेञ्चाइजीलाई छोड़्ने चर्चा चलिरहेको छ। मीडिया रिपोर्टअनुसार, उनले आफ्नो फसेलासँग फ्रेञ्चाइजीलाई अवगत गराइसकेका छन्। अहिले ३० वर्षीय क्रिकेटरको आईपीएल करियरलाई लिएर चर्चा जारी रहे पनि उनको अन्तर्राष्ट्रिय करियर, विशेषगरी टी२० प्रारूपमा स्थिर भइसकेको छ। उनी गत केही समयदेखि भारतीय टी२० टीमको हिस्सा रहेका छन् अनि उनले एकाधिक रेकर्ड पनि बनाइसकेका छन्। सेमसनले यसको श्रेय मुख्य कप्तान गौतम गम्भीर र कप्तान सूर्यकुमार यादवलाई दिए। आउँदो साल भारत र श्रीलंकाको आयोजनमा आईसीसी टी२० वर्ल्ड कप हुनेछ अनि त्यस टुर्नामेण्टमा सेमसन भारतीय टीमको निम्ति महत्त्वपूर्ण खेलाड़ी हुनेछन्। सेमसनले एउटा कार्यक्रममा भारतीय टीममा आफ्नो स्थान पक्का गर्ने विषयमा आफ्नो मत व्यक्त गरेका छन्। उनलाई लामो समयदेखि भारतीय टीममा चयन गरिन्थ्यो तर अन्तिम एकादशमा स्थान प्राप्त भइरहेको थिएन। भारतले २०२४ वर्ल्ड कप जितेपछि चाहिँ उनको भाग्य बद्लियो। रोहित शर्मा र विराट कोहलीले सन्न्यास लिएपछि टीममा २ वटा स्थान खाली भयो। रोहितको ओपनिंग स्लटमा सेमसनलाई मौका प्राप्त भयो अनि उनले गत वर्ष बंग्लादेश र दक्षिण अफ्रिकाविरुद्ध ५ वटा टी२० म्याचमा ३ वटा शतक बनाएर आफ्नो क्षमताको प्रदर्शन गरे। केरलका यस खेलाड़ीले अहिले गम्भीर र सूर्यकुमारलाई समर्थनको निम्ति धन्यवाद जनाएका छन्।
सेमसनले भने, बद्लाउ टी२० वर्ल्ड कप (२०२४) पछि आयो। गौतम गम्भीर प्रशिक्षक र सूर्यकुमार कप्तान बने। म आन्ध्रबाट दलीप ट्रफी खेलिरहेको थिएँ अनि सूर्यकुमार प्रतिद्वन्द्वी टीममा थिए। उनले मलाई असल मौका आइरहेको बताए। सूर्यकुमारले बंग्लादेश र दक्षिण अफ्रिकाविरुद्ध ७ वटा टी२० इण्टरनेशनल म्याच रहेको अनि सातैवटा म्याचमा ओपनरको रूपमा खेल्ने मौका दिने मलाई बताए। सेमसनले गम्भीरबाट प्राप्त समर्थनलाई पनि याद गरे। उनले भने, मैले श्रीलंकामा २ वटा म्याच खेले तर रन बनाउन सकिनँ। म ड्रेसिंग रूममा निराश थिए। त्यस समय प्रशिक्षक गम्भीरले मलाई के भयो भनेर सोधे। मैले उनलाई लामो समयपछि मौका पाएर पनि त्यसको फाइदा उठाउन नसक्दा निराश अनुभव भएको बताएँ। त्यस समय उनले मलाई २१ पल्ट शून्य रनमा आउट भए मात्र टीमबाट बाहिर गरिने बताए। उनको साथ र विश्वासले मेरो मनोबल बढ़्यो। कप्तान र प्रशिक्षकले देखाएको विश्वासले मेरो आत्मविश्वास बढ़्यो। यसले मलाई मैदानमा ओर्लिएर असल प्रदर्शन गर्नमा सहायता पुग्यो।
सेमसनले भारतको निम्ति २०१५-मा पदार्पण गरेका थिए। त्यसपछि २०२४-सम्म उनी टीममा आउँदै-जाँदै गरे तर गत वर्षदेखि उनी टी२० टीमको नियमित सदस्य बने। सेमसनले भारतको निम्ति अहिलेसम्म १६ वटा वनडे र ४२ वटा टी२० इण्टरनेशनल म्याच खेलेका छन्। उनले १६ वटा वनडे म्याचमा ५६.६७-को औसतले ५१० रन बनाएका छन्। यसमा ३ वटा अर्द्धशतक र एउटा शतक सामेल छ। यसरी उनले ४२ वटा टी२० इण्टरनेशनल म्याचमा २५.३२-को औसत र १५२.३९-को स्ट्राईक रेटले ८६१ रन बनाइसकेका छन्। यसमा २ वटा अर्द्धशतक र ३ वटा शतक सामेल छ। आईपीएलमा यस विकेटकीपर ब्याटरले १७६ वटा म्याचमा ३०.७५-को औसत र १३९.०५-को स्ट्राईक रेटले ४७०४ रन बनाएका छन्। यसमा २६ वटा अर्द्धशतक र ३ वटा शतक सामेल छ।