इस्लामाबाद: पाकिस्तानका पूर्व पेस बलर वसीम अकरमले आउँदो महिना हुने एशिया कपको निम्ति देशका शीर्ष ब्याटर बाबर आजमलाई टी२० इण्टरनेशनल टीममा फर्काउने माग गर्दै टीममा एकजना अनुभवी खेलाड़ीको आवश्यकतामाथि जोर दिएका छन्। बाबरले आफ्नो अन्तिम टी२० इण्टरनेशनल म्याच दिसम्बर २०२४-मा दक्षिण अफ्रिकाविरुद्ध खेलेका थिए। त्यसपछि उनी पाकिस्तानको टी२० इण्टरनेशनल टीमबाट बाहिर छन्। औसत दर्जाको स्कोर अनि निराशाजनक स्ट्राईक रेटले गर्दा टीम म्यानेजमेण्टले उनलाई टीममा स्थान दिएको छैन। अहिले एशिया कप नजिकै रहेको छ अनि यस रोमाञ्चक टी२० इण्टरनेशनल टुर्नामेण्टको निम्ति पाकिस्तानको टीम म्यानेजमेण्ट अहिले पनि सर्वश्रेष्ठ टीम संयोजनको खोजमा रहेको छ। यस्तो स्थितिमा अकरमले बाबरलाई फेरि टीममा सामेल गर्न पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-सँग आग्रह गरेका छन्। अकरमले एउटा साक्षात्कारमा भने, मसँग अधिकार भएको भए म बाबरलाई राष्ट्रिय टी२० टीममा अवश्यै सामेल गर्ने थिएँ। एशिया कप र वर्ल्ड कप नजिकै रहेको छ अनि हामीलाई एकजना सीनियर ब्याटरको आवश्यकता छ। उनले २०१९-मा समरसेटको निम्ति खेल्दा लगभग १५०-को स्ट्राईक रेटले रन बनाएका थिए। यो कुरा प्रशंसकहरूले भुल्नु हुँदैन। उनमा परिस्थितिहरू अनुसार ब्याटिंग गर्ने क्षमता रहेको छ।
सुल्तान अव् स्विंग-को नामले चिनिने अकरमले म्याचमा परिस्थितिहरू अनुसार आफ्नो ब्याटिंग शैली बद्लिने बाबरको क्षमताको प्रशंसा गरेका छन्। उनको भनाइअनुसार, विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक भएको नाताले बाबरले जिम्मेवारी उठाउन सक्छन् अनि टीमलाई आफूसँग अघि बढ़ाउन सक्छन्। अकरमले भने, म्याचको अवधि विशेषगरी ठूल्ठूलो टीमहरूविरुद्ध १४०-१६० रनको लक्ष्यलाई पीछा गर्दा हामीलाई यस्ता एकजना खेलाड़ीको आवश्यकता हुन्छ जससले रहल १० जना खेलाड़ीलाई साथमा लिएर चल्न सक्छन्। बाबर विश्वका सर्वश्रेष्ठ खेलाड़ीहरूमा एक हुन्। उनले आफ्नो खेललाई प्रारूप र म्याचको स्थिति अनुसार ढाल्न सक्छन्। उनले पहिला पनि यस्तो गरेका छन् अनि भविष्यमा पनि गर्नेछन्। बाबरमा अहिले धेरै क्रिकेट बाँचेको छ अनि उनले पाकिस्तानको निम्ति घेरै कुराहरू हासिल गर्न सक्छन्। हामी सबैलाई उनलाई समर्थन गर्नु पर्नेछ। प्रशिक्षकले उनलाई आफ्नो इच्छा अनुसार कुनै पनि स्थानमा खेलाउन सक्छन्। मेरो विचारमा तेस्रो नम्बर उनको निम्ति सर्वश्रेष्ठ हुनेछ तर यो स्थितिमाथि निर्भर गर्नेछ। अधिक ओभर बाँचेको छ भने अन्य कसैलाई पनि पहिला ब्याटिंग गर्न पठाउन सकिनेछ। एशिया कप ९ सेप्टेम्बरदेखि शुरु हुनेछ। टुर्नामेण्टमा पाकिस्तानले आफ्नो अभियानको शुरुवात १२ सेप्टेम्बरमा दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा ओमानविरुद्ध गर्नेछ।