कीव: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्प–पुटिन भेटवार्ताप्रति आफ्नो प्रतिक्रिया दिएका छन्। उनले युक्रेनले रुसलाई आफ्नो भूमि नदिने बताएका हुन्।
जेलेन्स्कीको यो भनाइ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्ने घोषणापछि आएको हो।
अमेरिकी राष्ट्रपतिले रुससँगको युद्ध अन्त्य गर्न युक्रेनले आफ्नो भूभाग त्याग्नुपर्ने हुन सक्ने बताएको केही घण्टापछि ट्रम्प र पुटिनबीचको भेटवार्ताको घोषणा भएको थियो।
‘तपाईं त्यो क्षेत्र हेर्दै हुनुहुन्छ जहाँ साढे तीन वर्षदेखि लडाइँ भइरहेको छ,’ ट्रम्पले भने,‘धेरै रुसी र धेरै युक्रेनी मारिएका छन्।’
केही फिर्ता र केही परिवर्तन हुने भन्दै उनले दुवैको हितमा केही क्षेत्र साटासाट गरिने बताए।
ह्वाइट हाउसले युरोपेली नेताहरूलाई युक्रेनले डोनबास, खेरसन र जापोरिजिया लगायत धेरै क्षेत्र त्याग्ने सम्झौता स्वीकार गर्न मनाउन खोजिरहेको बीबीसीले उल्लेख गरेको छ।
जेलेन्स्कीले पहिले पनि यस्ता सर्तहरू अस्वीकार गरिसकेका छन्। भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई उसको कार्यका लागि पुरस्कृत नगर्ने बताए।
‘यो युद्ध अन्त्य हुनुपर्छ र रुसले नै अन्त्य गर्नुपर्छ। रुसले यो सुरु गरेको हो र सबै समयसीमालाई बेवास्ता गर्दै यसलाई तानिरहेको छ, र त्यो समस्या हो। अरू केही होइन,’ जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा भने।
उनले युक्रेन बिना लिइएका निर्णयले केही पनि हासिल नहुने बताए। यी अपूर्ण र अव्यावहारिक निर्णय भएको उनको भनाइ छ।