लण्डन: ईंग्ल्याण्डका मुख्य प्रशिक्षक ब्रेण्डन म्याककुलमले भारतीय टीम ओवल मैदानमा खेलिएको पाँचौं टेस्ट म्याचमा जीतको हकदार रहेको कुरा स्वीकार गरेका छन्। भारतले ईंग्ल्याण्डलाई पाँचौं तथा अन्तिम टेस्ट म्याचमा पराजित गरी सीरीज २-२-को बराबरीमा समाप्त गऱ्यो। पाँचौं दिन जीतको निम्ति ईंग्ल्याण्डलाई ३५ रन र भारतलाई ४ विकेटको आवश्यकता थियो। भारतले मोहम्मद सिराजको अगुवाईमा पेस आक्रमणको असल प्रदर्शनले गर्दा म्याचमा ६ रनले जीत हासिल गरेको थियो। भारत र ईंग्ल्याण्डबीच ५ वटा टेस्ट म्याचको सीरीज २० जूनदेखि शुरु भएको थियो। लीड्समा खेलिएको पहिलो टेस्ट म्याचमा ईंग्ल्याण्डले जिते पनि भारतले बर्मिंघम टेस्ट म्याचमा जीत हासिल गरी सीरीज १-१-को बराबरीमा पुऱ्याएको थियो। त्यसपछि लीड्समा खेलिएको तेस्रो टेस्ट म्याचमा भारतले हारको सामना गर्नु परेको थियो। भारतले लीड्समा जित्ने म्याच गुमाउँदा ईंग्ल्याण्डले सीरीजमा २-१-को बढ़त हासिल गरेको थियो। त्यसपछि लर्ड्स टेस्ट म्याच ड्र रह्यो। भारतले रविन्द्र जडेजा र वाशिंगटन सुन्दरको अविजित शतकको सहायताले लर्ड्स टेस्ट ड्र गरेको थियो। त्यसपछि सीरीज ड्र गर्न भारतसँग ओवलमा खेलिएको पाँचौं टेस्ट म्याच जित्नु बाहेक अन्य कुनै उपाय थिएन। भारतले अन्तमा ओवलमा ६ रनले रोमाञ्चक जीत हासिल गरी टेस्ट सीरीज ड्र गऱ्यो।
म्याककुलमले भने, पाँचौं टेस्टमा भारत निक्कै पछाड़िएको थियो तर मोहम्मद सिराजले बाघको मुटु लिएर ३०औं ओभरमा असाधारण बलिंग गरे। त्यो साँच्चै असाधारण प्रयास थियो। पाँचौं टेस्टमा हामी जीतको स्थितिमा थियौं तर सिराजले म्याचको दिशा बद्लिए। मेरो विचारमा उनीहरू (भारत) जीतको हकदार थिए। उनीहरूले असल क्रिकेट खेले। हामीले यस सीरीजमा आफ्नो सर्वश्रेष्ठ प्रयास गऱ्यौं। एउटा टीमको रूपमा उनीहरू कतिको सुदृढ़ छन् भन्ने सबैले यस सीरीजमा देख्न पाए। भारतविरुद्ध सीरीज कठिन हुने अनि चाहेको जस्तो नतीजा पाउन आफ्नो सर्वश्रेष्ठ क्रिकेट खेल्नु पर्ने कुरा हामीलाई थाहा थियो। यसको साथमा म्याककुलमले यस सालको अन्तमा हुने एशेज सीरीजलाई ध्यानमा राखेर ईंग्ल्याण्डको टीमले केही क्षेत्रहरूमा काम गर्ने आवश्यकता रहेको बताए। उनले भने, हामी यस नतीजालाई भुलेर अघि बढ़्नु पर्नेछ। कुन-कुन क्षेत्रमा सुधार गर्नु पर्नेछ भन्ने हामीलाई थाहा छ। अष्ट्रेलिया पुगेर हामीले आफूलाई एउटा ठूलो मौका दिन सक्नेछौं। टीममा सुधारको निम्ति स्थान रहेको छ। यस खेलले तपाईंलाई हरेक दिन केही न केही सिकाउँछ। जे भए पनि मलाई आफ्ना खेलाड़ीहरूका प्रदर्शनमाथि गर्व छ। सीरीज संघर्षपूर्ण रह्यो अनि केही प्रमुख खेलाड़ीहरूका चोटले हामीलाई नोक्सान पनि भयो।