कोपा अमेरिका फेमिनिनामा ब्राजील नवौंपल्ट च्याम्पियन

IMG-20250803-WA0092

क्विटो (इक्वाडोर): ब्राजीलको महिला फूटबल टीमले ३ पल्ट पछाड़िए पनि असाधारण पुनरागमन गर्दै नवौंपल्ट कोपा अमेरिका फेमिनिना खिताब जित्यो। शनिवार अबेर राति खेलिएको फाइनलमा ब्राजीलले ६ पल्ट विश्वकी सर्वश्रेष्ठ खेलाड़ी रहने मार्टाकी उत्कृष्ट प्रदर्शनको दममा कोलम्बियालाई पेनल्टी शूटआउटमा ५–४-ले पराजित गरी ट्रफी जित्यो। विश्वकी सर्वश्रेष्ठ महिला फूटबलर ३९ वर्षीया मार्टाले ८२औं मिनटमा मैदानमा कदम राखिन् अनि इञ्ज्युरी टाइमको छैटौं मिनटमा गोल गरी ब्राजीललाई ३–३-को बराबरीमा पुऱ्याइन्। त्यसपछि उनले अतिरिक्त समयको खेलमा पनि १०५औं मिनटमा गोल गरी ब्राजीललाई म्याचमा पहिलोपल्ट बढ़त दिलाइन्। पूरा म्याचमा ब्राजीलमाथि दबाउ कायम राख्ने कोलम्बियाको निम्ति लेसी सेण्टोसले ११५औं मिनटमा गोल गर्दै स्कोर फेरि एकपल्ट ४–४-को बराबरीमा पुग्यो अनि म्याच पेनल्टी शूटआउटमा पुग्यो। गोलकीपर लोरेना दा सिल्वाले शूटआउटमा २ वटा पेनल्टी बचाएर ब्राजीललाई यस महाद्वीपीय च्याम्पियनशीपमा लगातार पाँचौं खिताब दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। यसरी ब्राजीलले गत ५ वटा फाइनलमा चौथोपल्ट कोलम्बियालाई पराजित गऱ्यो। ब्राजीलको तर्फबाट ६ वटा वर्ल्ड कप र ६ वटा ओलम्पिक खेलहरूमा हिस्सा लिइसकेकी मार्टाले अहिलेसम्म २०६ वटा अन्तर्राष्ट्रिय म्याचमा १२२ गोल गरिसकेकी छन्। ब्राजीलको तर्फबाट एञ्जेलिना अलोन्सोले ४५औं र अमाण्डा गुटिएरेसले ८०औं मिनटमा गोल गरिन्। यसरी कोलम्बियाको तर्फबाट लिण्डा केसेडोले २५औं, मारया रमिरेजले ८८औं मिनटमा र सेण्टोसले गोल गरिन्। ब्राजीलकी डिफेण्डर टार्सियानेले ६९औं मिनटमा आत्मघाती गोल गरिन्। म्याचमा ६० प्रतिशत पोजेशनको साथ खेल्ने ब्राजीलले ३ पल्ट पछाड़िएर पनि अन्तमा च्याम्पियन बन्ने गौरव हासिल गऱ्यो। यसअघि अर्जेण्टिनाले उरुग्वेलाई पेनल्टी शूटआउटमा ५–४-ले पराजित गरी टुर्नामेण्टमा तेस्रो स्थान हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २–२-को बराबरीमा रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement