नयाँ दिल्ली: भारतीय क्रिकेट टीमका विकेटकीपर ब्याटर रिषभ पन्त म्यानचेष्टर टेस्ट म्याचको अवधि खुट्टामा लागेको चोटले गर्दा सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याचबाट बाहिर भइसकेका छन्। यसैकारण ३१ जुलाईदेखि द ओवलमा शुरु हुने अन्तिम टेस्ट म्याचमा उनले खेल्नेछैनन्। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले बताएअनुसार, पन्तको स्थानमा एन जगदीशनलाई टीममा सामेल गरिएको छ। ओल्ड ट्रेफर्डमा भएको चौथो टेस्ट म्याचको पहिलो दिन क्रिस वोक्सको बलले पन्तको दाहिने खुट्टामा चोट लागेको थियो। त्यही चोटले गर्दा उनी पाँचौं टेस्ट म्याचबाट बाहिर भएका छन्। बीसीसीआईको मेडिकल टीमले उनको प्रगतिमाथि नजर राख्नेछ।
यसबीच पुरुष चयन समितिले ३१ जुलाईदेखि शुरु हुने पाँचौं टेस्ट म्याचको निम्ति नारायण जगदीशनलाई टीममा सामेल गरेको छ। तमिलनाडुमा २४ डिसेम्बर, १९९५-मा जन्मिएका जगदीशनले अहिलेसम्म भारतको निम्ति पदार्पण गरेका छैनन्। उनले घरेलु क्रिकेटमा चाहिँ लगातार असल प्रदर्शन गरेका छन्। यस २९ वर्षीय क्रिकेटरले ५२ वटा प्रथम श्रेणीको म्याचमा ३३७३ रन बनाएका छन्। यसमा १० वटा शतक र १४ वटा अर्द्धशतक सामेल छ। यसरी ६४ वटा लिस्ट ए म्याचमा उनले २७२८ र ६६ वटा टी२० म्याचमा १४७५ रन बनाएका छन्। दाहिने हातका यस ब्याटरले आईपीएलमा चेन्नई सुपर किंग्स र कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरिसकेका छन्।