म्यानचेष्टर: ईंग्ल्याण्ड यात्रामा रहने भारतीय टीमलाई ठूलो झट्का लागेको छ। भारतीय खेलाड़ीहरूका चोटको शिकार बन्ने क्रम जारी छ अनि यस सूचीमा उपकप्तान रिषभ पन्त पनि सामेल भएका छन्। विकेटकीपर-ब्याटर पन्त खुट्टाको चोटले गर्दा पूरा सीरीजबाट बाहिर भएका छन्। म्यानचेष्टरमा जारी चौथो टेस्ट म्याचको पहिलो दिन ब्याटिंग गर्दा उनको खुट्टामा चोट लागेको थियो। बलले खुट्टामा लागेपछि उनलाई यन्त्रणाले छटपटाइरहेको देखिएको थियो अनि उनी रिटायर्ड हर्ट भएका थिए। चोटको स्क्यान रिपोर्टमा उनको खुट्टाको हड्डी फ्र्याक्चर भएको पत्तो लाग्यो अनि डाक्टरहरूले उनलाई विश्राम गर्ने सल्लाह दिएका छन्। भारतको पहिलो ईनिंग्समा पन्त ३७ रनमा ब्याटिंग गरिरहेको थिए। त्यस समय क्रिस वोक्सको बलिंगमा रिभर्स स्वीप खेल्ने प्रयास गर्दा बलले लागेको थियो। उनी हिँड्न पनि सकिरहेका थिएनन् अनि उनलाई एम्बुलेन्सद्वारा मैदान बाहिर लगिएको थियो। पन्तको दाहिने खुट्टाबाट खून निस्किरहेको थियो अनि चोट लागेको जग्गा फुलिएको पनि थियो।
पन्त पूरा सीरीजबाट बाहिर हुनु भारतीय टीमको निम्ति ठूलो झट्का हो कारण उनी असल फर्ममा रहेका थिए। उनले म्यानचेष्टर टेस्टमा पनि असल ब्याटिंग गरिरहेका थिए। अब उनी ब्याटिंगको निम्ति ओर्लिने सम्भावना कम्ती नै रहेको छ। यसैकारण भारतले एकजना कम्ती ब्याटरको साथ खेल्नु पर्नेछ। सीरीजमा ईंग्ल्याण्ड २-१-ले अघि रहेको छ अनि म्यानचेष्टरमा पराजित भए भारतले सीरीज गुमाउनेछ। बीसीसीआई-को सूत्रले न्यूज एजेन्सी पीटीआई-लाई भनेको छ, स्क्यान रिपोर्टमा फ्र्याक्चर रहेको देखियो अनि पन्त कम्तीमा ६ हप्ताको निम्ति मैदानबाट बाहिर भएका छन्। बीसीसीआईले चाँडै उनको रिप्लेसमेण्टको घोषणा गर्ने अनि ईशान किशन रिप्लेसमेण्ट हुनसक्छन्। सीरीजको पाँचौं टेस्ट लण्डनको द ओवल मैदानमा ३१ जुलाईदेखि ४ अगस्तसम्म खेलिनेछ। किशनले हालै नटिंघमशायरको निम्ति २ वटा काउण्टी म्याच खेलेका छन् अनि उनी टेस्ट सीरीज अघि ईंग्ल्याण्ड लायन्सविरुद्ध २ वटा अनौपचारिक म्याच खेल्ने भारत ए टीमको पनि हिस्सा थिए। म्यानचेष्टरमा जारी टेस्ट म्याचमा चाहिँ पन्तको स्थानमा ध्रुव जुरेलले विकेटकीपिंग गर्नेछन्। उनलाई आज बिहान विकेटकीपिंगको अभ्यास गरिरहेको देखियो। भारत पहिलादेखि नै खेलाड़ीहरूका चोटको समस्यासँग जुझिरहेको छ। अलराउण्डर नीतिश कुमार रेड्डी चोटले गर्दा पूरा सीरीजबाट बाहिर भइसकेका छन्। यसरी पेस बलर आकाश दीप र अर्शदीप सिंह पनि चोटग्रस्त छन्। उल्लेखनीय छ, पन्तले ईंग्ल्याण्डविरुद्ध जारी सीरीजमा ६६-को औसतले ४६२ रन बनाएका छन्। यसमा २ वटा शतक र २ वटा अर्द्धशतक सामेल छ।