दार्जीलिङ: भाजपा ब्लक कमिटीले जनताको विभिन्न समस्याहरु लिएर आज बिजनबारी ब्लक अधिकारीसंग भेटवार्ता गररेको हो। जसको नेतृत्व भाजपा जिल्ला उपाध्यक्ष एलएम लामा, दार्जीलिङ विधान सभा संयोजक सुमन प्रधान,ब्लक कमिटी सभापति बिरेन्द्र तामाङ र ब्लक महासचिव अरुण प्रधानले गरेका थिए।उक्त प्रतिनिधिहरुमा ब्लक उपाध्यक्ष सुकबहादुर गोले, पञ्चायत सदस्य सोमदत्त ब्राह्मण, पञ्चायत सदस्य पेमेन्द्र साम्पाङ राई, पञ्चायत समिति सदस्या संद्या तिवारी, मण्डल अध्यक्षाहरु पिङकी लिम्बू, अरुणा राई,निरज राई,राजीब राई,सुष्मा लामाहरु संलग्न थिए।
प्रतिनिधिहरुले ब्लक अधिकारी एकजना कार्यकारी अधिकारी भएको हैसियतमा पञ्चायत समिति र ग्राम पञ्चायतहरुमा हुने विकासका योजनाहरुमा सरकारी विधिलाई पूर्णतया अनुपालन गर्नुपर्ने, पक्षपातपूर्ण ब्यबहार बन्द हुनुपर्ने, सयदिने रोजगार शुरु हुनुभन्दा अगावै जबकार्ड नभएकाहरुका लागि जबकार्ड बनाइसक्नुपर्ने, विकास योजनाको टेण्डरमा निम्नतम दर हुनुपर्ने, पञ्चायतका कामहरु जनपक्षीय र सहज हुनुपर्ने, सांसद लगायत केन्द्रीय सरकारबाट स्वीकृत धनराशिहरुले हुने योजनाहरुमा भ्रष्टाचारमुक्त हुनुपर्ने, कुनै पनि योजनाबाट ठेकदार वा एजेन्सीलाई मात्रै फायदा होइन जनतालाई फायदा पुग्नुपर्ने आदि विषयहरुमाथि विस्तृत चर्चा र छलफल भएको र भविष्यमा आउने कुनै प्रकारको जनगुनासो सृष्टि नहोस्। यसप्रति ब्लक अधिकारीले ध्यान दिनुपर्ने कुरामा प्रतिनिधिहरुले जोड दिएका थिए। ब्लक अधिकारीले सकारात्मक र विधिपूर्वक पहल गरिने प्रतिनिधिलाई वचन राखेका छन्।
ब्लक कमिटीले अब लगातार पहाडको विभिन्न ठाउँमा भइरहेको सडक,पानी, स्वास्थ्य, बिजुली र अन्य योजनाहरुका स्थलगत भ्रमण गर्ने जानकारी पनि ब्लक अधिकारीलाई गराएका छन्। केन्द्रीय सरकारबाट भइरहेको योजनाहरुमा कुनै प्रकारको धाँधली देखेको अबस्थामा उक्त योजनाको फण्ड रोक्का समेत गर्न कदम उठाउने जनस्वार्थमूलक कठोर निर्णय समेत लिन बाध्य हुने भएका छन्। राज्य सरकारबाट स्वीकृत योजनाहरु बारे यस्तै कदम उठाइयोस् भन्ने कमिटीको धारणा छ। निकट भविष्यमा जनसरोकारका विषयमा चासो राख्ने गाउँ ठाउँका प्रतिनिधिहरुका पनि सहयोग लिएर जनपक्षीय काममा अघि बढने समितिले निर्णय गरेको छ। निकै सौहार्दपूर्ण बार्ता लाभ भएको छ।