काठमाडौं: गैरकानुनी रूपमा १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टो करेन्सी कारोबारमा संलग्न दुई भारतीय नागरिकलाई पुलिसले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोतिहारी निवासी ४३ वर्षीय रुपेश कुमार गुप्ता र पूर्वी चम्पारण, बिजबानी निवासी २२ वर्षीय बिपिन कुमार रहेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ललितपुर महानगरपालिका–२ स्थित सानेपाको कालोपुल क्षेत्रबाट भारतको विहार राज्यका दुई जनालाई सोमबार पक्राउ गरेको हो।
सीआईबीका अनुसार उनीहरूले सानेपास्थित ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलको आडमा ठूलो परिमाणमा गैरकानुनी हुण्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका थिए।
सूचनाको आधारमा गरिएको छापामारीपछि प्रहरीले उनीहरूको साथबाट ८ लाख २० हजार नेपाली रुपैयाँ, १० हजार भारतीय रुपैयाँ, एक थान सीसीटीभी डिभिआर र संरक्षित वन्यजन्तु कस्तुरीको अङ्ग (खेटोपहार जस्तो वस्तु) समेत बरामद गरेको छ।
सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। उनले प्रारम्भिक अनुसन्धानमा उनीहरूको संलग्नतामा डेढ अर्बभन्दा बढीको डिजिटल मुद्रा कारोबार भएको पुष्टि भएको बताए।