तनहुँ: तनहुँको व्यास नगरपालिकाले सञ्चालन गरेको गौ संरक्षण केन्द्र धार्मिक पर्यटकको प्रमुख गन्तव्य बन्दै छ। व्यास नगरपालिकाले राष्ट्रिय जनावर गाईको संरक्षणको लागि गौरवको योजनामा समावेश गरी पूर्वाधार निर्माण गर्ने तथा स्थानीय गाईलाई पालन पोषण गर्न थाले पछि हाल आन्तरिक पर्यटकको धार्मिक आस्थाको स्थल बन्दै गएको हो।
गाईको माध्यमबाट धार्मिक पर्यटनको प्रवर्धन गर्न व्यास नगर गौरवको योजनामा समावेश गरिएको नगरपालिकाले जनाएको छ। योजना अन्तर्गत नगरपालिकाले-१० शिशुवा भतेरीमा गाई संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। गाईलाई हिन्दुधर्म अनुसार पुज्ने भएकोले स्थानीयहरु धार्मिक स्थलको रुपमा विकास गरिएको बताउँछन। स्थानीय हरु भन्छन, “गाई र गोरुहरु छाडा छोडिदिँदा किसानको बाली नष्ट गरिदियो भन्ने गुनासो आएपछि नगर पालिकाले गाई गोरुको संरक्षणको थालनी गरेको हो।’’
पछिल्लो समय गौमाताको सेवामा धेरैको आकर्षण बढ्दो छ। हिन्दु धर्मावलम्बीहरुले गाईलाई धनकी देवी लक्ष्मी तथा माताको पुज्ने भएकोले नगरपालिको सञ्चालन गरेको गौ संरक्षण केन्द्र धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भएको गौ संरक्षण केन्द्रका अध्यक्ष तथा व्यास नगरपालिका वडा नम्बर १० निबर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो। विभिन्न स्थानबाट गाईको अवलोकन गर्न आउनेक्रम बढ्दो रहेको धार्मिक पर्यटकलाई थप आकर्षित गर्न २१६ वटा वरपीपलका रुख हुर्किरहेको उहाँले जानकारी दिनुभयो।
सापकोटाले भन्नुभयो, “मादी नदीमा स्नान गरी २१६ वरपीपलका रुखहरु परिक्रममा गरी गाईलाई पूजा गर्ने भिड दिनप्रतिदिन बढीरहेकोले स्थानीय बासिन्दा उत्साहित भएका छन्।“ केन्द्रमा गाई ल्याउँदा एउटा गाईको रु. तीन हजार शुल्क लिने गरिएको छ।
विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेको उहाँले बताउनुभयो। हिन्दू वैदिक सनातन धर्ममा गाईको महत्व धेरै छ। हिन्दूहरूले गर्ने कर्मकाण्डमा पनि गाईको गोबर, मूत्र र दूधलाई पवित्र वस्तुका रुपमा प्रयोग गरिन्छ। हाल एक सय तीन वटा गाई रहेको केन्द्रले जनाएको छ।
तीन सय रोपनी जमिनलाई घेराबार गरी व्यवस्थित तरिकाले गाई संरक्षण भइरहेको छ। गाईलाई छाडा छोड्ने क्रम बढेसँगै यो काम धेरैले रुचाएका छन्। व्यास नगरपालिका–३ स्थित मनकामना आश्रमका अध्यक्ष राजन अधिकारीले गाईको राम्रोसँग पालनपोषण गरेर हिन्दु धर्म र सस्कारको जर्गेना गर्ने काम भएकोमा निकै खुसी लागेको बताउनुभयो। आफू र आफ्नो समुह वार्षिक रुपमा चार पाँच पटक गाईलाई दाना खुवाएर सेवा गर्न आउने गरेको अधिकारी बताउनुभयो।
व्यास नगपालिका–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मको सञ्चालिका कल्पना गौली आफ्नो, परिवार, इष्टमित्र, साथीभाईको जन्मदिन गाईसँग मनाउन आउने गरेको बताउनुभयो। विशेषगरी पछिल्लो समय जन्मदिन, विवाह उत्सव, पितृकार्य, श्राद्धको अवसरमा नगद तथा विभिन्न गाईलाई दाना, चोकर सहयोग गर्ने बढिरहेको गाई संरक्षण केन्द्रले जनाएको छ।
गाईको संरक्षणको साथै छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्यसहित वि.सं. २०१८ सालदेखि देखि केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रमा गाईलाई पूजा गरी दाना, चोकर घाँस, पराल खुलाउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको केन्द्रका उपाध्यक्ष प्रजापति सापकोटा बताउनुहुन्छ।
केन्द्रका अनुसार हाल गाई, गोरु गरी १४० वटा छन्। गाईलाई चर्नका लागि घाँसे मैदानको व्यवस्था गरिएको छ। चर्न नसक्ने बुढा तथा जर्सी गाईलाई घाँस काटेर खुवाउनका लागि मादी नदी किनारमा हरियो घाँसे मैदान बनाइएको छ। केन्द्रले दूध दिन छाडेका, थुनेलो भएका, बूढा भएका र बेवारिसे भएका गाई संरक्षण गरेको छ। बूढा भएका गाई मरे केन्द्र नजिक गिद्धको आहारको लागि नगाडीकन खुला रुपमै खाल्डो नजिक राखिदिने गरेका छन्।