म माथि दायर गरिएको मानहानिको मुद्दालाई सम्झेर ल्याउँदा…

00-Presentation2

२३ मार्च १९८६ को दिन खरसाङ बजारमा भयावह अग्निकाण्ड भएको थियो। त्यस अग्निकाण्डमा लगभग तीन सय भन्दा धेर पसल अनि घरहरू जलेर स्वाहा हुँदा हाम्रो पनि पसल अनि घर यस प्रकोपमा परेको थियो। त्यस समय हामी परिवारमा मोठ आठजना सदस्यहरू थियौं। शरीरमा भएको लुगाफाटा बाहेक आफ्नो हारमोनियम, तबला, पसलको गल्ला अनि ससाना दुई-तीनवटा बक्सा मात्र जोगाउन हामी सफल भएका थियौं। केही दिन शितलु बस्तीस्थित आफ्नो साथीको घरमा हामी बसेका थियौं।

यो अग्निकाण्ड दार्जीलिङ पहाड़ी क्षेत्रको इतिहासमा एकदमै भयावह भएकोले अग्नि पीड़ित परिवारहरूलाई विविध संघ-संस्थासहित सरकारी निकायहरूबाट सकभर राहत सामग्रीहरू प्राप्त भएको थियो। आर्थिक सहयोगको रूपमा सरकारी निकायहरूबाट मोठ हाम्रो परिवारले १६००/-(रूपियाँ सोह्र सय मात्र) प्राप्त गरेको थियो। त्यसताक आफ्ना शुभचिन्तकहरूबाट ऋण लिएर जसोतसो पसललाई मरम्मति कार्य गरिरहेको बेला अचानक खरसाङ च्याम्बर अफ् कमर्शको पक्षबाट व्यापारी सदस्यहरूलाई पसल चलाउनको निम्ति २५ हजार रूपियाँ प्रति दोकानदार ब्यांकबाट ऋण दिलाउने पहल आरम्भ गरियो। यसको निम्ति खरसाङ च्याम्बर अफ् कमर्शका प्रतिनिधिहरूद्वारा भनिएको सम्पूर्ण औपचारिकता पूरा गरे पनि अन्त्यमा ग्याराण्टरलाई लिएर हाम्रो ऋणको आवेदन फारम फर्काइयो। यो विषय लिएर खरसाङ च्याम्बर अफ् कमर्शका त्यसताक  पदाधिकारीहरूसित धेरै भनावैरी पनि भएको थियो। तर केही काम लागेन। अन्त्यमा विवश भएर मैले यस घटनालाई त्यस्ताक सिलगढीबाट प्रकाशित हुने नेपाली दैनिक ‘हिमालचुली’मा ‘खरसाङका अग्नि पीड़ित परिवारहरू’ शीर्षकमा एउटा लेख लेखें।

‘यसै बीच भगवानमाथि आस्था र भरोसा राखेर आर्थिक दृष्टिकोणले लाचार भएपनि मुद्दा लड़्न थालें। भाग्यले मलाई साथ दियो’

यो लेख ६ मई १९८६ को दिन प्रकाशित हुनेबित्तिकै हलचल मच्चियो। यसपछि यस विषयलाई लिएर म अनि खरसाङ च्याम्बर अफ् कमर्शको पक्षबाट कैयौं पटक ‘हिमालचुली’मा लेखालेख भयो। मलाई क्षमा माग्न भनियो। यदि क्षमा नमागे म माथि मानहानिको मुद्दा दायर गर्ने चेतावनी दिइयो। मैले यसको केही परवाह गरिनँ। अन्त्यसम्म दुवै पक्षबाट यस विषयलाई लिएर कुनै निष्कर्ष निस्किएन। फलस्वरूप हेर्दाहेर्दै ६ महीना बित्न लाग्दा खरसाङ च्याम्बर अफ् कमर्शको पक्षबाट म माथि खरसाङ महकुमा अदालतमा मानहानिको मुद्दा ५ नोभेम्बर १९८६ को दिन दायर गरियो। भोलिपल्ट ६ नोभेम्बर १९८६ को दिन सिलगढीबाट प्रकाशित हुने हिन्दी दैनिक ‘जनपथ समाचार’मा ‘मुरारीलाल ‘पञ्चम’ के उपर मानहानि का मुद्दा दायर’ शीर्षकको प्रथम पृष्ठमा न्यूज प्रकाशित भयो। त्यस्ताक म पत्रकार थिइनँ। म एक लेखकको रूपमा’ मालचुली’ दैनिकमा विविध विधाहरूमाथि लेखहरू लेख्ने गर्दथे।

यो न्यूज प्रकाशित भएपछि मैले खरसाङ महकुमा अदालतमा मुद्दा कन्टेस्ट गरें। यो मुद्दा म अनि ‘हिमालचुली’ दैनिकका प्रकाशकमाथि पनि दायर गरिएको थियो। मुद्दा चलिरहेको बेला म माथि मानसिक तनाव पनि उत्पन्न हुनु स्वाभाविक थियो। तर मैले यसको सामना दृढ़तासित गरें। म माथि यो मुद्दा दायर भएपछि हाम्रो समाजका सदस्यहरू आदिले पनि हाम्रो परिवारसित टाढ़िन अनि बोल्नसमेत छोड़ेका थिए।

यसै बीच भगवानमाथि आस्था र भरोसा राखेर आर्थिक दृष्टिकोणले लाचार भएपनि मुद्दा लड़्न थालें। भाग्यले मलाई साथ दियो। म माथि मुद्दा दायर गर्नेहरू मुद्दा सुनवाईको दिन प्रायः अदालतमा अनुपस्थित हुँदा माननीय न्यायाधीशले उनीहरूबाट २५ रूपियाँ जरिमाना गरेर मलाई दिलाए। मुद्दा चल्दाचल्दै यस मुद्दाको अदालती सम्पूर्ण औपचारिकता पूर्ण भएपछि अन्त्यमा २२ अप्रेल १९८८ को दिन म माथि दायर मानहानिको मुद्दाको निर्णय हाम्रो पक्षमा अदालतले सुनायो। यस मुद्दामा मैले जीत हासिल गरेपछि यस मुद्दालाई लिएर म माथि उत्पन्न मानसिक तनाव समाप्त भएको थियो। त्यस बखत जुन हिन्दी दैनिक ‘जनपथ समाचार’मा म माथि मानहानिको मुद्दा दायर गरिएको न्यूज प्रकाशित भएको थियो, आज त्यस समाचार-पत्रमा पनि म विगत धेरै वर्षदेखि पत्रकारको रूपमा कार्यरत छु।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुनुहुन्छ)

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *