बर्मिंघम: कप्तान शुभमन गिलको शतक (१६१ रन)-को सहायताले भारतले ईंग्ल्याण्डविरुद्ध जारी दोस्रो क्रिकेट टेस्ट म्याचमा जीतको सम्भावनालाई मजबूत बनायो। भारतले ६ विकेटमा ४२७ रन बनाएर आफ्नो दोस्रो ईनिंग्स घोषित गर्दा ईंग्ल्याण्डलाई म्याच जित्न ६०८ रनको विशाल लक्ष्य हासिल भयो। जवाफमा ईंग्ल्याण्डले चौथो दिनको खेल समाप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा ३ विकेट गुमाएर ७२ रन बनायो। शनिवार खेल समाप्त हुँदासम्म ओली पोप २४ र ह्यारी ब्रूक १५ रनमा अविजित थिए। ईंग्ल्याण्डले आज ज्याक क्रली (शून्य), जो रुट (०६ रन) र बेन डकेट (२५ रन)-को विकेट गुमायो। यसमा आकाश दीपले २ र मोहम्मद सिराजले १ विकेट हासिल गरे। यसरी आयोजक ईंग्ल्याण्डको निम्ति अब टेस्ट म्याच जित्नु लगभग असम्भव बनेको छ।
तेस्रो दिनको स्कोर १ विकेटमा ६४ रनदेखि अघि खेल्दै भारतले आज करुण नायर (२६ रन)-लाई शुरुमै गुमाए पनि केएल राहुलले अर्द्धशतक बनाए। उनले ८४ बल खेलेर १० वटा चौकाको सहायताले ५५ रन बनाए। यसरी १२६ रनको स्कोरमा राहुलको विकेट पतन भएपछि गिल र रिषभ पन्तले मिलेर स्कोरलाई अघि बढ़ाए। यी दुईजनाले मिलेर चौथो विकेटको निम्ति ११० रनको पार्टनरशीप गरी टीमलाई असल स्थितिमा पुऱ्याए। स्पिनर शोएब बशीरले पछिबाट पन्तलाई आउट गरी यस पार्टनरशीपमा विराम लगाए। पन्तले ५८ बल खेलेर ८ वटा चौका र ३ वटा छक्काको सहायताले ६५ रन बनाए। चौथो विकेटको पतनपछि गिलले रविन्द्र जडेजासँग मिलेर रन बनाउन जारी राखे। यी दुईजनाले मिलेर पाँचौं विकेटको निम्ति १७५ रनको पार्टनरशीप गरे। गिल १६२ बलमा १३ वटा चौका र ८ वटा छक्काको साथ १६१ रन बनाएर आउट भए। यसरी जडेजा ११८ बल खेलेर ५ वटा चौका र एउटा छक्काको साथ ६९ रनमा अविजित रहे। भारतले ६ विकेटमा ४२७ रन बनाएर दोस्रो ईनिंग्स घोषित गऱ्यो। ईंग्ल्याण्डका बलरहरूमा जोश टंग र शोएब बशीरले २-२ विकेट लिए।