काठमाडौं: संघीय लोकतान्त्रिक मोर्चाले काठमाडौंसहित ६ स्थानमा सभा गर्ने भएको छ। आइतबार लाजिम्पाटस्थित एक होटलमा भएको मोर्चाको बैठकले देशका ६ स्थानमा सभा गर्ने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले बताए।
मोर्चाले अगस्त २मा काठमाडौं, अगस्त ६ मा भैरहवा, अगस्त ८ मा कैलाली, अगस्त ३१ मा विराटनगर, सितम्बर ३ मा जनकपुर र सितम्बर ५ मा वीरगन्जमा सभा आयोजना गर्ने भएको हो। त्यस्तै बैठकले मोर्चाको कार्यविधि पनि पारित गरेको छ।
त्यस्तै रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने विषयमा पनि सहमति गरेको छ। मोर्चामा आबद्ध नागरिक उन्मुक्ति पार्टीले यसअघिको निर्वाचनमा पाएको मतका आधारमा उक्त क्षेत्रमा आफूहरूले उम्मेदवार पाउने दाबी गरेको छ। पार्टी संरक्षक चौधरीले आफ्ना अब्बल उम्मेदवारहरू रुपन्देही ३ मा रहेकाले साझा उम्मेदवार बनाउन आग्रह गरे।
‘सर्वदलीय सहमतिका आधारमा रुपन्देही-३ मा मोर्चाको तर्फबाट नाउपाले साझा उम्मेदवार पाओस्। उम्मेदवार छान्ने अधिकार हामीलाई दिइयोस्। हामीसँग तीन जना अब्बल उम्मेदवार छन्,’ संरक्षक चौधरीले भने। नाउपाको प्रस्तावमा जनमत पार्टीबाहेक ६ दलले सहमति जनाएको थियो। जनमतले भने आफूले पनि उम्मेदवार उठाउने मोर्चालाई जानकारी गराएको थियो।
नाउपा संरक्षक चौधरीले जनमत पार्टीका अध्यक्ष सीके राउत पनि सहमत हुने विश्वास व्यक्त गरे। ‘नाउपाको उम्मेदवारमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि सहमतिमा आउनुहुन्छ,’ उनले भने।
नाउपाका संरक्षक चौधरीको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका राजकिशोर यादव, मनिष सुमन, शर्मा, नाउपाबाट संरक्षक चौधरी, लालबीर चौधरी, अरुण चौधरी, राष्ट्रिय मुक्ति पार्टीबाट राजेन्द्र महतो, केशव झा र अनिल महासेठ सहभागी भएका थिए।
त्यस्तै लोसपाबाट महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण, ज्ञानेन्द्र झा, जनमत पार्टीबाट अब्दुल खान, जनता प्रगतिशील पार्टीबाट हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन र तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंह बैठकमा सहभागी भएका थिए।