नेपाल अष्ट्रेलियामा ‘टप इन्ड टी–२० सिरिज’ खेल्ने तयारीमा

IMG-20250627-WA0098

काठमाडौं: नेपालले आउँदो अगस्टमा अष्ट्रेलियाको डार्विनमा आयोजना हुने ‘टप इन्ड टी–२० सिरिज’ मा प्रतिस्पर्धा गर्ने भएको छ। आईसीसी पुरुष टी–२० विश्वकप एशिया छनोटको तयारीस्वरूप नेपालले अगस्ट १४ देखि २४ सम्म उक्त सिरिज खेल्ने क्यान (क्रिकेट संघ नेपाल) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
उनका अनुसार, सिरिजले अष्ट्रेलियाको वातावरण र मैदानमा खेल्ने अनुभव दिलाउनेछ, जसले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। नेपालले उक्त सिरिजमा कम्तीमा ६ वटा टी–२० खेल खेल्ने तय भएको छ।
२०२५ को टप इन्ड टी–२० शृङ्खलाको पूर्ण तालिका र सहभागी टोलीहरूको औपचारिक घोषणा आगामी हप्ता गरिने बताइएको छ।
त्यसअघि नेपालले सेप्टेम्बर २७ देखि ३० सम्म दुई पटकको टी–२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने कार्यक्रम पनि तय भइसकेको छ। यस्ता अभ्यास र प्रतिस्पर्धाले नेपालको टोलीलाई उच्चस्तरीय खेलमा अझ प्रतिस्पर्धी बनाउने विश्वास लिइएको छ।

About Author

Advertisement