३१९ केजी चरेससहित एकजना पक्राउ

IMG-20250626-WA0108

वीरगन्ज: पर्साको वीरगन्जबाट पुलिसले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ। पुलिसले ३ सय १९ केजी चरेससहित मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ घर भएका ३६ वर्षीय बुद्धिबहादुर स्याङ्तानलाई पक्राउ गरेको हो।
चरेसहित पक्राउ परेका स्याङ्तानको साथबाट १ लाख ९२ हजार रुपैयाँ रकम पनि पुलिसले बरामद गरेको छ। बुधबार बेलुकी बाराको परवानीपुरबाट वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट)तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई पुलिसले परवानीपुर चोकमा रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उक्त ट्रकको सामान लोड गर्ने भागमा प्लास्टिकको बोराभित्र पोका बनाएर राखिएको अवस्थामा ३ सय १९ केजी चरेस बरामद भएको जिल्ला पुलिस कार्यालय पर्साका प्रमुख तथा पुलिस उपरीक्षक गौतम मिश्रले बताए।
ट्रकबाट चरेस बरामद भएपछि त्यसका चालक स्याङ्तानलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए। खानतलासीका क्रममा चालक स्याङ्तानले लगाएको पाइन्टको खल्तीबाट नगद १ लाख ९२ हजार रुपैयाँ रकमपनि बरामद गरिएको मिश्रले बताए। बरामद चरेसको बजार मूल्य करिब १ करोड रुपैयाँ रहेको अनुमान गरिएको उनले बताए।
पक्राउ परेका ट्रक चालकले उक्त चरेस आफूले धादिङबाट ट्रकमा लोड गरेर ल्याएको र वीरगन्जको ड्राइपोर्ट नाका हुँदै भारतमा पुर्याउने योजनामा रहेको पुलिसलाई बयान दिएको पुलिस उपरीक्षक मिश्रले जानकारी दिए। चरेससहित पक्राउ परेका स्याङ्तानलाई प्रहरी हिरासतमा राखेर उनी विरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिई थप अनुसन्धान भइरहेको मिश्रले बताए।
बिहीबार जिल्ला पुलिस कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा पुलिस उपरीक्षक मिश्रले चरेसको तस्करीमा संलग्न अन्य व्यक्तिहरूको बारेमा पनि पुलिसले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement