काठमाडौं: नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललित राजवंशीले आइसीसीको टी–२०आई वरियतामा उल्लेख्य सुधार गरेका छन्।
बलिङतर्फ लेगस्पीनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्याण्डमा भएको टी-२०आई शृंखलामा ४ खेलमा ११ विकेट लिएका थिए।
त्यस्तै बाँयाहाते स्पीनर ललित राजवंशीले २९ स्थान सुधार गर्दै ५४औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्याण्डको शृंखलामा ४ विकेट लिएका थिए।
अलराउण्डर वरियतामा दीपेन्द्रसिंह ऐरी तेस्रो स्थानमा यथावत् छन्। कुशल भुर्तेलले ६ स्थान सुधार गरेर ३२औं स्थानमा छन्। ब्याटिङमा पनि कुशल भुर्तेलले १० स्थान सुधार गरेर ८३औं स्थानमा उक्लिएका छन्।
नेपाली टोली टी-२०आई वरियतामा १८औं स्थानमा तथा एकदिवसीय वरियतामा १७औं स्थानमा यथावत् छ। ललित राजवंशीले एकदिवसीयमा पनि ५ स्थान सुधार गरेर ४८औं स्थानमा छन्। सन्दीप लामिछाने १ स्थान सुधार गर्दै ५४औं स्थानमा छन्।