कोलकता: हरियाणा सिमानामा भएको मुठभेडमा हरियाणाका कुख्यात अपराधी रोमिल बोहरा मारिएका छन्।
हरियाणा पुलिसको विशेष कार्यदल (एसटीएफ) र दिल्ली पुलिसको विशेष सेलले मंगलबार संयुक्त अपरेसन सञ्चालन गर्दै रोमिललाई इन्काउन्टर गरेको हो। सो मुठभेडमा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
पुलिसका अनुसार रोमिल काला राणा–नोनी राणा गिरोहको सक्रिय शूटर थिए। उनीविरुद्ध हरियाणा राज्यमा दर्जनभन्दा बढी आपराधिक मुद्दा दर्ता थिए।
केही समयअघि यमुनानगरमा मदिरा व्यवसायी शांतनुको हत्या प्रकरणमा रोमिलको नाम अगाडि आएको थियो। त्यसैगरी, यमुनानगरको खेरी लक्खा सिंह क्षेत्रमा भएको त्रि-हत्या काण्डमा पनि उनी आरोपी थिए। यमुनानगरको बिलासपुरस्थित एउटा केन्द्रमा गोली चलाएको आरोपसमेत उनमाथि लागेको थियो।
हरियाणा पुलिसले उनलाई पक्राउ गर्न दुई लाख रूपैयाँ इनामसमेत तोकेको थियो। उनी यमुनानगर जिल्लाको कांसापुर गाउँका बासिन्दा थिए।
पुलिसका अनुसार लामो समयदेखि फरार रहेका रोमिलबारे विशेष सूचना प्राप्त भएपछि हरियाणा एसटीएफ र दिल्ली प्रहरीको विशेष सेलले संयुक्त अपरेसन शुरू गरेको थियो।
पक्राउ गर्न खोज्दा रोमिलले पुलिसमाथि आक्रमण गर्दै भाग्ने प्रयास गरेका थिए। जवाफी कारबाहीमा गोली चल्दा उनी गम्भीर घाइते भई मृत्यु भएको जनाइएको छ।
यसक्रममा हरियाणा पुलिसका दुई सब-इन्स्पेक्टर प्रवीण र रोहन घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले यो घटनालाई राज्यलाई अपराधमुक्त बनाउने दिशातर्फको महत्त्वपूर्ण कदम भएको बताएका छन्।
सूचना तथा लोक सम्पर्क विभागमार्फत् मुख्यमन्त्री सैनीले भनेका छन्, ‘भयमुक्त र अपराधमुक्त हरियाणा बनाउनु सरकारको मुख्य लक्ष्य हो। आम नागरिकको सुरक्षाका लागि हरियाणा पुलिस पूर्ण रूपले प्रतिबद्ध छ।’