कोलकता: ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापु आउजाउ गर्ने दर्जनौँ उडान अवरुद्ध हुनुका साथै रद्द भएका छन्।
स्थानीय समयअनुसार मंगलबार ५:३५ मा फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो।
विस्फोटपछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको थियो। छाता आकारमा आकाशमा देखिएको सुन्ताला रंगको मुस्लो १५० किमि परसम्मको गाउँबाटसमेत देखिएको थियो।
देनसार अन्तर्राष्ट्रिय विमानस्थलको बेवसाइटमा ज्वालामुखीका कारण उडान अवरुद्द भएको जनाएको छ। राजधानी जाकर्ताका अलवा अस्ट्रेलिया, चीन, भारत, मलेसिया, न्युजिल्यान्ड र सिँगापुरका उडान पनि ज्वालामुखीका कारण प्रभावित भएका छन्।
विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरुले ज्वालामुखी विस्फोटपछि नजिकैका दुई गाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।