ट्रम्पसँग ‘लबिइङ’ गरिदिन ओमान, कतार र साउदी अरबसँग आग्रह
क्यानडामा जी-७ मुलुकहरूको वार्ता बीचमै छाडेर फर्किए ट्रम्प
नयाँ दिल्ली: इजराइलसँग पाँच दिनदेखि आक्रमण र प्रत्याक्रमणको शृंखला चलेपछि इरानले युद्धविरामको पहल अघि बढाएको खुलेको छ।
गत शुक्रबारदेखि इसराइलसँग शृंखलाबद्ध आक्रमण र प्रत्याक्रमणपश्चात इरानले युद्धविरामको पहल सुरू गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
त्यसका लागि उसले खाडीका तीन मुलुकहरू; ओमान, कतार र साउदी अरबलाई अमेरिकी राष्ट्रिपति डोनाल्ड ट्रम्सपसँग ‘लबिइङ’ गरिदिन आग्रह गरेको दुई जना इरानी अधिकारी र तीन जना क्षेत्रीय अधिकारीहरूलाई उद्धृत गरेर रोयटर्सले लेखेको छ।
ट्रम्पसँगको परमाणु हतियारसम्बन्धी वार्ता सफल नभएपछि नै इसराइलले इरानमाथि धावा बोलेको थियो।
इजराइलले पाँच दिन यताको आक्रमणमा परमाणु संरचना, हतियार कारखाना, आणविक वैज्ञानिकदेखि भौतिक संरचनामात्रै होइन उच्च सैन्य अधिकारीहरूको समेत हत्या गरेर इरानी सेनाको चेन अफ कमान्डलाई धराशायी बनाएको छ।
इजराइलको पहिलो दिनको आक्रमणपछि ट्रम्प आफैले पनि इरानलाई परमाणु कार्यक्रमबारे वार्ता र सहमतिका लागि बारम्बार आह्वान गरिरहेका छन्।
तर इरानले भने इजराइललाई युद्धविराका लागि दबाब बढाउन ट्रम्पमार्फत पहल गरिदिन ओमान, कतार र साउदी अरबलाई आग्रह गरेको हो।
यी तीन देशहरूले पनि अमेरिकासँग नजिकको सम्बन्ध राख्छन्।
इरानले आफूले सिधै ट्रम्पसँग प्रस्ताव गर्दा उसले कडा सर्तहरू अघि सार्न सक्ने डरले इरानले चौथो मुलुकहरूमार्फत ‘लबिइङ’ बढाएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
इरानले इजराइल तत्काल युद्धविरामका लागि तयार भए अमेरिकासँगको परमाणु कार्यक्रमसम्बन्धी सम्झौतामा थप लचकता अपनाउने प्रतिबद्धता पनि व्यक्त गरेको रोयटर्सले जनाएको छ।
इरान र अमेरिकाबीच परमाणु कार्यक्रम रोक्ने विषयमा दुई महिनादेखि छलफल चलिरहेको थियो। जसको मध्यस्थता ओमानले गरेको थियो।
गत आइतबार छैटौं चरणको वार्ता बस्ने तय भएको थियो। त्यसको दुई दिन अघि नै इजराइलले इरानमाथि धावा बोलेपछि वार्ता पनि भाँडिइसकेको छ।
इरानले ती देशहरूबाट लबिइङ बढाएको इरानी अधिकारीहरू बताए पनि त्यसको स्वतन्त्र पुष्टि नभएको रोयटर्सले जनाएको छ।
इरानका विदेशमन्त्री अब्बास अराक्चीले ट्रम्पको आगामी कदमले उनी साँच्चै युद्ध रोक्न चाहन्छन् कि चाहँदैनन् भन्ने प्रष्ट हुने बताएका छन्।
इजरायलले आफ्नो आक्रमण रोक्नुपर्छ। हामी विरुद्ध सैन्य आक्रमण पूर्ण रूपमा बन्द नभएसम्म हाम्रो प्रतिक्रिया जारी रहनेछ। नेतान्याहूलाई रोक्न वाशिङ्टनबाट एक फोन कल काफी हुन्छ,’ अराक्चीले एक्समा लेखेका छन्।
इरान-इजराइल तनाव उत्कर्षमा पुगेपछि ट्रम्प क्यानडामा आइतबारदेखि शुरू भएको जी-७ राष्ट्रहरूको सम्मेलन बीचमै छाडेर सोमबार वाशिङ्टन फर्किएका छन्। सम्मेलन मंगलबारसम्म चल्ने तय थियो।
ट्रम्प मध्यपूर्वकै समस्या समाधान गर्न र युद्धविरामको पहलका लागि बैठक बीचमै छाडेर वाशिङ्टन फर्किएको फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले बताएका छन्।
जी-७ मुलुकहरुले जारी गर्ने संयुक्त वक्तव्यमा हस्ताक्षर नै नगरी ट्रम्प फर्किन लागेपछि वक्तव्य पुनः संशोधन गरिएको थियो भनेर न्युयोर्क टाइम्सले लेखेको छ। पहिलो वक्तव्यमा इरान र इजराइले एक-अर्कामाथि आक्रमण रोक्नुपर्नेमा जोड दिइएको थियो।
जी-७ मा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र युरोपेली युनियन सदस्य छन्।
पछि संशोधन गरिएको वक्तव्यमा भने इरानमाथि हमला गर्न इजराइललाई पूर्ण अधिकार रहेको भनिएको न्युयोर्क टाइम्सले लेखेको छ। त्यसमा मध्यपूर्वमा क्षेत्रीय तनाव उत्पन्न हुनुको कारण नै इरान हो भनेर उल्लेख गरिएको छ। त्यसपछि मात्रै ट्रम्पले हस्ताक्षर गरेका थिए।
ट्रम्प आफैले भने मध्यपूर्वको तनाव समाधानका लागि युद्धविरामको पहल गर्न आफू फर्किएको भन्ने म्याक्रोंको भनाइमा असहमति जनाएका छन्।
‘उनको भनाइ गलत छ। म किन फर्किएको भन्ने विषय उनलाई थाहा छैन। तर युद्धविराम होइन त्योभन्दा ठूलो काम गर्नुपर्ने छ। त्यो प्रस्ताव गरेरै वा नगरीकन पनि हुन सक्छ,’ ट्रम्पले भनेका छन्।
इजराइलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले भने आफ्नो मुलुकमाथिको मिसाइल र आणविक हतियारहरूको खतरा जरैदेखि निमिट्यान्न पार्न प्रतिबद्ध रहेको बताएका छन्।
‘अब यो अर्को प्रक्रियाबाट हुन्छ भने ठीकै छ। तर त्यसका लागि हामीले उनीहरूलाई यसअघि नै दुई महिनाको समय दिएका थियौं,’ नेतन्याहूले भने।