नयाँ दिल्ली: अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-का अध्यक्ष कल्याण चौबे र भारतीय फूटबल टीमका पूर्व कप्तान भाइचुङ भूटियाबीच मौखिक लड़ाइँ जारी रहेको छ। चौबेले भाइचुङमाथि आफ्नो निहित स्वार्थको निम्ति व्यवसायिक एकाडमीहरू चलाएको आरोप लगाएका छन्। भारतका पूर्व दिग्गज फरवर्डले चाहिँ यी आरोपहरूलाई निराधार बताएका छन्। भारतीय फूटबल टीमको गत केही महिनादेखि जारी लगातार खराब प्रदर्शनले गर्दा एआईएफएफ-माथि चरम दबाउ सृष्टि भएको छ। हालै एएफसी एशियन कप क्वालीफाईंग म्याचमा हंगकंगविरुद्ध निराशाजनक हारपछि भाइचुङले आईएफएफ-को प्रमुख पदबाट चौबेले राजीनामा दिनु पर्ने माग गरेका थिए। भाइचुङले चौबेले भारतीय फूटबललाई नष्ट गरेको आरोप लगाएका थिए। यसको जवाफमा चौबेले भने, उनले आफ्नो नामले एउटा व्यावसायिक फूटबल स्कूल चलाउँछन्। भारतका २० वटा विभिन्न शहरहरूमा। यी स्कूलहरूमा खेलाड़ीहरूले १०००-देखि १ लाख रुपियाँको भुक्तान गर्छन्। खेलाड़ीहरूबाट एक हजारदेखि १० हजार रुपियाँ प्रति महिना गरेर लिइन्छ। चौबेले भाइचुङ भूटिया फूटबल स्कूल (बीबीएफएस)-को कुरा उल्लेख गरे, जसको देशभरि धेरै एकाडमीहरू रहेको छ। एआईएफएफ अध्यक्षले भने, यो सम्पूर्ण रूपले निहित स्वार्थ हो। सम्पूर्ण रूपले व्यावसायिक। उनीहरू (एकाडमी)-ले परिवारको भावना, मानिसहरूका भावनाहरूसँग खेलेर अनुचित लाभ उठाइरहेका छन्। मानिसहरू यस व्यक्ति (भाइचुङ)-ले भारतीय फूटबललाई उच्चतम स्तरमा पुऱ्याएको अनि एकाडमीको हिस्सा बन्ने सके फूटबल खेलाड़ीको रूपमा आफ्नो करियर बनाउन सक्ने सोच्छन्। वास्तवमा यस्तो हुँदैन।
भाइचुङले पनि यी आरोपहरूलाई खारेज गर्दै एकाडमी कसरी चलाइन्छ भन्ने चौबेलाई कुनै जानकारी नै नरहेको बताए। उनले यी एकाडमीहरू आफ्नो मेहनतको कमाईले खोलेको बताएका छन्। भाइचुङले भने, उनी (चौबे) यस्ता व्यक्ति हुन्, जसमा जानकारीको अभाव छ। यसैकारण आधारहीन आरोपहरू लगाइरहेका छन्। उनलाई फूटबल एकाडमीहरूबारे कुनै जानकारी छैन। मैले १४ साल अघि आफ्नो मेहनतको कमाईले फूटबल स्कूल खोलेको हो। राज्य, केन्द्र र कर्पोरेट्सबाट कुनै वित्तीय सहायता प्राप्त भएन। गत २ सालमा नानीहरूका सहायताको निम्ति केवल केही प्रायोजक अघि आएको छ। देशभरि मेरो स्कूलमा हरेक दिन ६००० भन्दा अधिक नानीहरू खेल्छन्। एआईएफएफ-ले कहिले पनि यस्तो गर्न सक्दैन। उनी फीसको कुरा गरिरहेका छन् तर मेरो स्कूलहरूमा १५० भन्दा अधिक योग्य प्रशिक्षक रहेका छन्। ती प्रशिक्षकहरू र प्रयोग गरिने मैदानहरूको खर्च कसले वहन गर्नेछन्? यो पनि ठूलो प्रश्न हो। यसैकारण एकाडमी चलाउन मैले फीस त लिनु नै पर्छ तर उनले कुन जानकारीको आधारमा १०००० रुपियाँ प्रति महिना गरेर लिइन्छ भन्ने दावी गरिरहेका छन् भन्ने मैले बुझ्न सकेको छुइनँ। हामी यति धेर शुल्क लिँदैनौं।