नयाँ दिल्ली: पोल्याण्ड राष्ट्रिय फूटबल टीमका प्रशिक्षक मिशेल प्रोबिएरजले स्टार स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीसँग विवादको केही दिन पछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन्। पोल्याण्ड फूटबल संघद्वारा जारी एउटा बयानमा प्रोबिएरजले भनेका छन्, वर्तमान स्थितिलाई ध्यानमा राखेर राष्ट्रिय टीमको हितमा मैले प्रशिक्षक पदबाट राजीनामा दिनु नै सबैभन्दा सही निर्णय हुने म निष्कर्षमा पुगेको छु। प्रोबिएरज (५२ वर्षीय)-लाई सेप्टेम्बर २०२३-मा पोल्याण्ड राष्ट्रिय टीमको प्रशिक्षक नियुक्त गरिएको थियो। हालै टीमका स्टार फरवर्ड लेवाण्डोस्कीसँग उनको विवादले सबैको ध्यान आकर्षित गरेको थियो। वास्तवमा प्रोबिएरजले फिनल्याण्डविरुद्ध फिफा वर्ल्ड कप क्वालीफायर म्याचको ठीक अघि बार्सिलोनाका फरवर्डलाई कप्तानको पदबाट हटाएका थिए। उनको स्थानमा इण्टर मिलानको मीडफिल्डर पिओत्र जिलिन्स्कीलाई नयाँ कप्तान नियुक्त गरिएको थियो। पोल्याण्डको निम्ति १५८ वटा म्याच खेलेर रेकर्ड ८५ गोल गर्ने लेवाण्डोस्की प्रशिक्षकको यस्तो फसेलाले असन्तुष्ट थिए। त्यसपछि लेवाण्डोस्कीले पनि प्रोबिएरज मुख्य प्रशिक्षक पदमा रहुञ्जेलसम्म राष्ट्रिय टीमबाट नखेल्ने घोषणा गरेका थिए। लेवाण्डोस्की नखेल्दा पोल्याण्डले फिनल्याण्डविरुद्ध म्याचमा १-२-ले हारको सामना गर्नु पऱ्यो। यस हारले गर्दा पोल्याण्डको वर्ल्ड कपको निम्ति क्वालीफाई गर्ने सम्भावनाहरूलाई ठूलो धक्का लागेको छ।