काठमाडौं: अनलाइन बेटिङ खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचजना भारतीय नागरिकसहित १७ जना रहेका छन्। उनीहरूले ५ महिनामा ८१ करोड बढिको कारोवार गरेको पुलिसले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरका दुईवटा ठाउँमा छापा मारेर १७ जनालाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरुले ललितपुरको धापासीमा एक घर र सनराइज अर्पाटमेन्ट भाडामा लिएर सट्टेबाजी धन्दा चलाउँदै आएका थिए।
१२ जना नेपाली र ५ जना भारतीय मिलेर अनलाइन वेटिङ चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।
पक्राउ पर्नेहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जोर्डन भन्ने जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, पूर्णबहादुर दर्लामी मगर र मोहितकुमार सिंह छन्।
विशेषगरी उनीहरूले आइपिएल, जस्ता विभिन्न खेलमा बेटिङमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। सट्टेबाजी सञ्चालन गर्ने मुख्य मानिस भारतीय नागरिक रहेको र उ फरार रहेको पुलिसले बताएको छ।
अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आर्चायका अनुसार, पक्राउ परेका १७ जना नै रोजगारीको लागि दुवई गएका थिए। उनीहरले त्यहाँ पनि अनलाइनबाटै सट्टेबाजी धन्दा गर्दै आएका थिए। यहि टोलीलाई महिनाको ७५ देखि ८० हजारसम्म पारिश्रमिम दिनेगरी नेपाल बोलाइएको खुलेको छ। उनीहरू सबैजना पूर्वपरिचित व्यक्ति हुन्।
उनीहरूको साथबाट प्रहरीले १४ वटा ल्यापटप, ६० वटा मोबाइल, विभिन्न बैंकका चेकलगायतका साम्रगी बरामद गरेको छ।