नयाँ दिल्ली: नाइजेरियाको मोक्वा सहरमा बिहीबार आएको बाढीबाट मृत्यु हुनेको आधिकारिक संख्या २०० भन्दा बढी पुगेको छ।
मध्य नाइजर राज्यको उक्त सहरमा अझै पनि ५०० भन्दा बढी मानिस बेपत्ता छन्। स्थानीय अधिकारी मोसेस किम्बोकुले बीबीसीलाई उद्धार कार्यहरू रद्द गरिएको बताए। अधिकारीहरूले अब कोही पनि जीवित नभएको आशंका गरेका छन्। योसँगै ७०० भन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ।
मोक्वा जिल्ला प्रमुख मुहम्मदु अलियुले अधिकारीहरूले चाँडै नै बाढीमा फसेका शव हटाउन सुरु गर्ने बताए। यस क्षेत्रमा पछिल्लो ६० वर्षमा आएको सबैभन्दा ठुलो बाढी भएको बताइएको छ।
यसअघि आपत्कालीन व्यवस्थापन एजेन्सीले मोक्वा शहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको बताएको थियो।
नाइजेरियाले २०२२ मा पनि ठुलो बाढीको सामना गर्नुपरेको थियो। जसले गर्दा लगभग १३ लाख मानिस आफ्नो घर छोड्न बाध्य भए र ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।